
२५ जेठ, काठमाडौं । २ भदौ २०७८ मा अहिलेसम्मकै उच्च विन्दु ३१९९.०३ छोएको सेयर बजार परिसूचक नेप्से त्यसयताको ९ महिनामा १२ सय अंक तल झर्यो । हाल सेयरको दैनिक कारोबार औसतः डेढ अर्बमा खुम्चिएको छ । ४० खर्ब १० अर्ब रुपैयाँसम्म पुगेको बजार पूँजीकरण अब घटेर २९ खर्ब ६३ अर्ब रुपैयाँमा झरेको छ ।
कोरोना महामारीले अर्थतन्त्र ठप्प भएको समयमा प्राथमिक सेयर किनेर पुँजीबजारमा प्रवेश गरेका नुवाकोटका अर्जुन न्यौपानेले विस्तारै दोस्रो बजारमार्फत लगानी गर्न थालेका थिए । तर, बजार निरन्तर ओरालो लागेपछि सेयर कारोबार गर्न छाडेको पाँच महिना भयो ।
‘पहिला कुनै महिना १० हजारमात्र बचत भए पनि बजारमै लगानी गरौं भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘अब त्यो जोखिम लिने आँट छैन ।’
सामान्यतयासेयरमा स्टक हेरेर लामो समयका लागि लगानी गर्दै आएका होटेल व्यवसायी युवराज श्रेष्ठ अहिले तत्काल थप लगानी गर्ने मुडमा छैनन् । ‘बजारलाई प्राकृतिक नियममा चल्न दिनुपर्छ,’ उनी भन्छन्, ‘हाम्रोमा हल्लाको भरमा साना लगानीकर्तालाई विना अध्ययन बजारमा तान्ने प्रवृत्तिले जोखिम बढाएको हो ।’
किन निरन्तर घटिरहेको छ ?
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल बजारमा लगानी र सहभागी बढ्नुमा प्रविधिको प्रवेशलाई मुख्य कारण मान्छन् । उनका अनुसार धितोपत्र बजारमा गरिएका सुधार कार्य एवं डिजिटलाइजेसनले गर्दा गत आर्थिक वर्षमा नेपालको धितोपत्र बजार ऐतिहासिक उचाइमा पुगेको हो ।
कोभिड–१९ को असर कम हुँदै जाँदा लगानीका अन्य क्षेत्र खुला हुँदै गएपछि सेयर बजारमा लगानीकर्ताको चासो पहिले भन्दा कम देखिएको हमालको विचार छ ।
वैदेशिक आप्रवाहमा कमी, कर्जायोग्य रकमको संकुचन व्याजदर वृद्धि, पूँजीगत खर्चमा कमी तथा रुस–युक्रेन युद्धको प्रभावले समग्र क्षेत्रमा महँगी बढ्दा उपभोक्ताको क्रयशक्ति घटेको छ ।
यही कारण सेयर बजारमा लगानी घटेको छ र सेयर बजार परिसूचक पनि निरन्तर घटेको हो । लगानीकर्ता भने चालु आर्थिक वर्षको मौद्रिक नीतिले धितोपत्र बजारमा मार्जिन ल्यान्डिङको सीमाका कारण बढी हतोत्साहित भएका हुन् ।
एक लगानीकर्ताले सेयर धितोमा बैंक तथा वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र बैंक तथा वित्तीय संस्थाबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र कर्जा पाउँछन् ।
एकातर्फ मार्जिन ल्याण्डिङमा कडाइ र अर्कोतर्फ बैंकहरुमा लगानीयोग्य तरलताको अभावले ठूला लगानीकर्ताको पैसा बजारमा आउन पाएको छैन ।
सानो रहेन अब लगानीकर्ताको संख्या
नेपाल धितोपत्र बोर्डका अनुसार धितोपत्र बजारमा ५२ लाख डिम्याट खाता खुलिसकेको छ । यसमध्ये मेरो सेयर खाता खोल्ने लगानीकर्ताको संख्या ४३ लाख पुगेको छ । एउटै प्राथमिक बजारको सार्वजनिक निष्कासन (आईपीओ)मा २७ लाख भन्दा बढी आवेदन परेको छ ।
प्रविधिको विकासका कारण प्राथमिक सेयर अहिले ७७ वटै जिल्लाबाट भर्न सकिने गरी सुविधा विस्तार भएको छ । जसले गर्दा अब बजार केही सीमित मान्छेको मात्र पहुँचमा रहेन । लगानीकर्ताको बढ्दो संख्या र पछिल्लो समय घट्दो ट्रेन्डमा रहेको बजारमा लगानीकर्ता केही परिपक्व बन्दै गएको संकेत भने देखिएको छ ।
हल्लाको भरमा भन्दा बढी नियामक निकायका माध्यमबाट हुने नीतिगत सुधारमा लगानीकर्ताको अपेक्षा बढी हुन थालेको छ । यस्तै संकेत बुधबारको कारोबार ट्रेन्डमा समेत देखिएको छ ।
बुधबार बिहान सामान्य वृद्धि भएको सेयर बजार अन्तिममा ६० अंकले वृद्धि भएर बन्द भयो । बुधबार अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारमा रहेका समस्या अध्ययन गर्न एक समिति गठन गरेका छन् । यसले लगानीकर्ताले नीतिगत स्थायित्व र लगानीको सुरक्षा खोजेको संकेत गरेको छ ।
राजस्वमा योगदान
नागरिकको बढ्दो सहभागिताका बीच पूँजी बजारबाट राजस्व संकलन पनि बढेको छ । ५ वर्षयताको तथ्यांक अनुसार वार्षिक १ अर्ब ३९ करोड रुपैयाँ पूँजीगत लाभकर प्राप्त भएको यो क्षेत्रबाट मात्र अहिले वार्षिक १५ अर्ब भन्दा माथि राजस्व संकलन हुन्छ ।
नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२/७३ मा पूँजीगत लाभकर १ अर्ब ३९ करोड रुपैयाँ वार्षिक संकलन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा पूँजीगत लाभकर १५ अर्ब ५३ करोड उठ्यो । चालु आर्थिक वर्षको १७ जेठसम्म ११ अर्ब ३ करोड रुपैयाँ राजस्व उठिसकेको छ ।
कुन आर्थिक वर्षमा कति उठ्यो पूँजीगत लाभकर ?
- २०७२/७३ : १ अर्ब ३९ करोड
- २०७३/७४ : १ अर्ब ४५ करोड
- २०७४/७५ : ४७ करोड
- २०७५/७६ : ७४ करोड
- २०७६/७७ : ९८ करोड ४८ लाख
- २०७७/७८ : १५ अर्ब ५३ करोड
- २०७८/७९ (१७ जेठसम्म) : ११ अर्ब ३ करोड
मौद्रिक नीतिमा अपेक्षा
१५ जेठमा सरकारले ल्याएको आगामी वर्षको लागि बजेटमा लगानीकर्ताले मौद्रिक नीतिले ल्याएका केही कडा प्रावधान खुकुलो हुने अपेक्षा गरेका थिए । बजारलाई प्रत्यक्ष लाभ हुने गरी बजेटले सम्बोधन नगरेपछि त्यसयता हरेक दिन बजार घटिरह्यो । पछिल्लो ८ कारोबार दिनमा २ सय भन्दा बढी अंकले बजार घटेको थियो । बुधबार केही सम्हालिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बुधबार धितोपत्र बोर्डको वार्षिकोत्सवमा बोल्दै भनेका थिए, ‘पूँजी बजारलाई सुदृढ र बलियो बनाउन आगामी आव २०७९/८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरिएको छ ।’
उनले बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ मा धितोपत्रको सुधार, नियमन र सुपरीवेक्षणका विषय समेटिएको स्मरण गराए ।
आगामी आर्थिक वर्षमा सरकारले धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सो भन्दा बढी पूँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गर्ने गरी सूचिकृत गर्न लगाउने सहितका प्रावधान ल्याएको छ ।
अर्थमन्त्री शर्माका अनुसार बुधबार गठन गरिएको समितिले दिने अध्ययन प्रतिवेदनले आगामी आवको मौद्रिक नीति निर्माणमा सहयोग पुग्ने छ ।
यसले बजारमा देखिएको समस्या समेत समाधान गर्ने उनको भनाइ छ । पूँजीबजारमा निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्ने प्रतिवद्धता समेत उनले जनाए । अर्थमन्त्रीले बुधबार नै गभर्नर महाप्रसाद अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष हमालसँग छलफल गरेका थिए । लगानीकर्ता आगामी मौद्रिक नीतिबाट बजारका समस्या समाधान हुने अपेक्षामा छन् ।
प्रतिक्रिया 4