
२५ जेठ, काठमाडौं । उपत्यकाका अस्पतालहरुमा पानी र दूषित खानेकुराका कारण बिरामी भएर आउनेहरुको संख्या बढ्दो क्रममा छ । गर्मी मौसममा झाडा पखला, टाइफाइड, रुघाखोकी, पेटसम्बन्धी अन्य रोग बढ्ने भएपनि सडकमा थुप्रिएको फोहोरलाई पनि जोडेर हेर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर तथा वरिष्ठ पेट रोग विशेषज्ञ प्रा. डा. युवराज शर्माका अनुसार हाल ५० जना चेकजाँच गर्दा १५ जना झाडापखालाका बिरामी भेटिरहेको बताउँछन् । ‘पानी र प्रदुषित वातावरणीय कारणले बिरामीहरु अस्पताल आइरहेका छन्,’ डा. शर्माले भने, ‘काठमाडौंमा ढल र खानेपानी पाइप एकै ठाउँमा छ । काठमाडौंमा थुप्रिएको फोहोरकै कारणले पनि बिरामी बढिरहेको अनुमान लगाउन सकिन्छ ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पतालमा पनि सरुवारोग जन्य बिरामीको बढेको छ । लामो समयदेखि फोहोर व्यवस्थापन नहुँदा फोहोरबाट सर्ने रोगका बिरामी बढेको हुनसक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।
उनीहरुका अनुसार समयमै फोहोर व्यवस्थापन गर्न नसके महामारी रुपमा फैलिने जोखिम छ । ‘आज मात्रै काठमाडौंकै एकै परिवारका तीन सदस्य झाडापखालाका बिरामी हेरेको थिएँ । झाडापखाला हुनको कारण खानपिनसँगै फोहोरमैला पनि भएको आंशका गर्न सकिन्छ,’ डा. शर्माले भने ।
काठमाडौंमा फोहोर व्यवस्थापन हुन सकेको छैन । सडकमा फोहोरको डंगुर लाग्न थालेको छ । प्रहरी प्रशासनले बल प्रयोग गरेर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर खसाल्न खोजेपनि स्थानीयबासीको अवरोध कायमै छ ।
यसरी सडकमा फोहोर थुप्रिँदा संक्रामक रोगको वृद्धि–विकासमा मद्धत पुग्ने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताउँछन् । गर्मी मौसम वा फोहोरमध्ये कुन कारणले झाडापखाला भएको हो भन्ने छुट्टाउन नसके पनि फोहोरलाई कारक तत्व रुपमा लिन सकिने डा. पुनको भनाइ छ ।
अहिले बर्षा सुरु भएकाले फोहोरबाट फैलिने रोगको जोखिम थप बढेको उनी बताउँछन् । ‘झाडापखला केही संख्यामा बिरामी मात्रै अस्पताल भर्ना भएका छन्, धेरैले घर नजिककै क्लिनिकबाट औषधि सेवन गरिरहेका होलान्’, डा. पुन भन्छन्, ‘अस्पतालमा भर्ना भएका भन्दा धेरै अनुमान गर्न सकिन्छ ।’
फोहोरबाट उत्पत्ति हुने रोग विभिन्न माध्यमबाट फैलने जोखिम उच्च हुन्छ । हावा, पानी, फोहोरमा हुने मुसा, झिंगा, भुसुनाले रोगहरु फैलिने विज्ञहरु बताउँछन् । जसका कारण मुसाजन्य, लामखुट्टेजन्य, पानीजन्य र हावाजन्य रोगहरु फैलिन्छ ।
‘हात–खुट्टाको माध्यमबाट पनि अप्रत्यक्ष रुपमा सडक थुप्रेको फोहोर घरमा पुग्छ । झिँगा, भुसुना र पानी लगायतका माध्यमबाट खानेकुरामा मिसिन सक्छ र फोहोरबाट उत्पन्न रोग हाम्रो शरीरमा प्रवेश गर्छ र समस्या बढ्दै जान्छ,’ डा. पुन भन्छन् ।
पछिल्लो समयमा ‘स्क्रब टाइफस’ बिरामी पनि भेटिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथ्यांकले देखाएको छ । शहरमा फोहर फैलिएका कारण स्क्रब टाइफसका बिरामी पनि बढिरहेको डा. पुन अनुमान लगाउँछन् ।
स्क्रब टाइफस एक सरुवा रोग हो, जुन मुसामा लाग्ने किर्नाजस्तो देखिने कीराको टोकाइबाट मानिसमा सर्छ ।
मुसामा हुने किर्ना अर्थात माइट प्रायः झाडी, खेतबारी, फोहोर भएको ठाउँमा देखिने गर्छ । ‘अहिले धेरै अस्पतालबाट स्क्रब टाइफसको चेकजाँच गर्न टेकुमा पठाउँछन् । यस्ता रिपोर्टले विभिन्न अस्पतालमा स्क्रब टाइफसका बिरामी पुगिरहेको देखिन्छन्,’ डा. पुन भन्छन्, ‘बर्षायाममा पक्कै पनि स्क्रब टाइफसका बिरामी बढ्छन् । तर, अहिले फोहोरसँग पनि जोडेर हेर्न सकिन्छ ।’
वीर अस्पतालका मेडिकल डिपार्टमेन्ट प्रमुख तथा छाती रोग विशेषज्ञ डा. अशेष ढुगांना वर्षायामको समयमा थुप्रिने फोहोरले पानी दूषित गर्ने र त्यसको कारण सरुवाजन्य रोगको बढिरहेको बताउँछन् ।
‘फोहोरमा रहेका जीवाणुहरु फैलिने ‘फोहोरको कारणले हावा तथा पानीको मुहान दुषित हुन्छ । जसमा विभिन्न खालका संक्रमण हुन्छन्,’ डा. ढुंगानाले थपे, ‘खानेकुरा र श्वासप्रश्वासको माध्यमबाट शरीरमा संक्रमण हुन्छ ।’
काठमाडौंमा फोहोरकै कारण सरुवा रोग फैलिएको विषयमा अध्ययन अनुसन्धान नभए पनि झाडापखाला, हेपाटाइसिसका बिरामीको संख्या बिस्तारै बढ्नुले फोहोरकै संक्रमणबाट भएको आंकलन गर्न सकिने उनी बताउँछन् ।
दीर्घकालीन असर पनि हुन्छ
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) निर्देशक डा. चुमनलाल दासका अनुसार नेपालमा गर्मी मौसममा झाडापखाला मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन हुन्छ ।
काठमाडौंमा फोहोरकै कारण सरुवारोग ‘आउट ब्रेक’ हुने अवस्था भने नभएको उनी बताउँछन् । ‘फोहोरले सरुवा रोगलाई बढुवा दिन्छ । झिंगा, हात, पानी, हातखट्टा आदि माध्यमबाट खानेकुरामा मिसिन सक्छ । फोहोरबाट उत्पन्न रोग हाम्रो शरीरमा प्रवेश भएपछि समस्या र जोखिम बढ्दै जान्छ,’ डा. दासले थपे ।
फोहोर लामो समयसम्म थुप्रिँदा संक्रमण र रोगको विकास हुने संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । फोहोरबाट झाडापखाला, हैजा, जुका, पेट दुखाइ, करेला, छालासम्बन्धी रोगका समस्या देखिन्छ ।
बर्षाको समय भएकाले पानीमार्फत थुप्रिएको फोहोरबाट रसाएको पानी बगेर नदी र पानीको मुहानसम्म पुग्ने र दुषित पानीका कारण विभिन्न रोगहरु सर्ने डा. अधिकारी बताउँछन् । उनी भन्छन्, ‘पानी पर्दा थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । त्यो इनार वा पानीको मुहानमा मिसिँदा सरुवाजन्य रोगको महामारीको रुप लिन्छ ।’
समयमै फोहोर व्यवस्थापन नहुँदा तत्कालदेखि दीर्घकालीन असर हुने वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. राजेन्द्र पन्त बताउँछन् । ‘फोहोर जन्य वस्तुमा विभिन्न किसिमका केमिकलदेखि रसायन पदार्थ हुन्छन्,’ डा. पन्त भन्छन्, ‘झाडापखला, टाइफाइड, जन्डिस, छाला पाक्ने, आँखा चिलाउनेदेखि नसर्ने रोगहरु पनि लाग्नसक्छ ।’
फोहोरबाट निस्किने विषाक्त पदार्थसँगै कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायत ग्यासले क्यान्सर, श्वासप्रश्वासको समस्या, महिलाहरुको प्रजजन क्षतमा असर, मिर्गौला लगायतका शरीरका विभिन्न अंगमा असर पुर्याउने डा. पन्त बताउँछन् । फोहोर उठाइसकेपछि पनि केमिकल र औषधि प्रयोगमा ध्यान दिनुपर्ने जनस्वास्थ्य विद् डा. पन्तको सुझाव छ ।
फोहोरबाट सर्नसक्ने रोगहरुबाट जोगिन बाहिर गएर आएपछि साबुनपानीले हातखुट्टा हुने, पानी उमालेर मात्र पिउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. अधिकारी बताउँछन् ।
प्रतिक्रिया 4