
२६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको छ ।
अगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्ससहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरेको हो ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बुधबार सम्झौता पत्र आदानप्रदान गरेका छन् ।
सम्झौता पत्रमा धनगढी उपमहानगरपालिकाले सबै वडामा मासिकरुपमा विशेषज्ञ स्वास्थ्य क्लिनक सञ्चालन गर्ने, विशेष स्वास्थ्य सेवाका लागि एक जना स्त्री रोग विशेषज्ञ डाक्टर र एक जना फिजिसियन डाक्टरको व्यवस्था गर्नेछ भने भाटभटेनी सुपरमार्केटले विशेषज्ञ क्लिनिकका लागि राखिने दुई जना डाक्टरको पारिश्रमिक व्यहोर्ने कुरा उल्लेख गरिएको छ ।
दुवै पक्षबीच भएको सम्झौताअनुसारका सर्तहरु अगामी साउन १ गतेदेखि लागू हुने उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख कृष्ण बोहराले बताए ।
सम्झौता पत्र आदानप्रदान कार्यक्रममा बोल्दै मेयर हमालले सबै नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन विशेषज्ञ स्वास्थ्य क्लिनिक सेवा सञ्चालन गर्न भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरिएको बताए ।
उनले १९ वटै वडामा मासिक रुपमा तोकिएको दिन मात्र निःशुल्क स्वास्थ्य परीक्षण गर्न योजना रहेको सुनाए ।
प्रतिक्रिया 4