+

स्टार खेलाडीबिना नेपालले जोडर्नबिरुद्ध कस्तो खेल्यो ?

२०७९ जेठ  २६ गते २०:०७ २०७९ जेठ २६ गते २०:०७
स्टार खेलाडीबिना नेपालले जोडर्नबिरुद्ध कस्तो खेल्यो ?

२६ जेठ, काठमाडौं । किरण चेम्जोङ, रोहित चन्द, अन्जन विष्ट, अनन्त तामाङ लगायतका एकसेएक स्टार खेलाडीको अनुपस्थितिमा नेपालले जोर्डनसँग कस्तो खेल्ला ? प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैली र व्यवहारबाट आजित भएको भन्दै राष्ट्रिय टिमको बन्द प्रशिक्षण छाडेका १० खेलाडी र उनीहरुको समर्थनमा उभिएका गोलरक्षक कप्तान किरण चेम्जोङ बिना कुवेत पुगेको नेपालले जोर्डनसँग खेल्नुअघिसम्म धेरेको चासो यही थियो ।

एसियन कप छनोटको तेस्रो चरणको पहिलो खेलमा नेपालले बुधबार राति जोर्डनसँग खेल्यो । नेपालले कस्तो खेल्यो ? राम्रै खेल्यो । फिफा वरीयतामा आफूभन्दा ७७ स्थान माथि र एसियन कपको क्वाटरफाइनलसम्म पुगेको जोर्डनसँग २–० ले पराजित भए पनि नेपाली टोलीको प्रदर्शनको प्रशंसा भइरहेको छ ।

जोर्डनको टोलीका अधिकांश खेलाडी कतारमा व्यावसायिक फुटबल खेल्छन् । नेपालसँगको खेलमा जोर्डनका इराकी प्रमुख प्रशिक्षक अदनान हमादले अघिल्लो साता अस्ट्रेलियासँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा उतारेको टोलीमा मात्र दुई परिवर्तन गरेका थिए । अर्थात जोर्डनले बलियो टोलीलाई नै नेपालबिरुद्ध उतारेको थियो ।

तर लामो समयदेखि राष्ट्रिय टिमबाट खेलिरहेका अनुभवी र सिनियर खेलाडीको अभावमा पनि नेपाल टिमले आफ्नो प्रदर्शनस्तर खस्कन दिएन । बरु, जोर्डनसँगका पछिल्ला दुई भेट भन्दा राम्रो नजिता निकाल्यो । विश्वकप छनोटको दोस्रो चरणमा खेलेका दुई खेलमा नेपालले जोर्डनसँग समान ३–० को हार व्यहोरेको थियो ।

जोर्डनविरुद्ध गोलरक्षक दीप कार्की र डिफेण्डर विकास तामाङले राष्ट्रिय टिमबाट डेब्यू गरे । कार्की र तामाङसहित ६ खेलाडीले राष्ट्रिय टोलीबाट खेल्न थालेको १ वर्ष पनि पुगेको छैन । तर कुवेत सिटीमा बुधबार राति भएको खेलमा नेपालले जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्यो ।

डेब्यू खेलमै गोलरक्षक दीप कार्कीको प्रदर्शन अविश्वसनीय थियो । उनले पहिलो हाफको अन्त्यतिर मोउसा सुलेमान अल तमारीको पेनाल्टी प्रहार बायाँतर्फ डाइभ गरी बचाएका थिए । तर ८२औं मिनेटमा पाएको पेनाल्टीमा सब्स्टिच्युड स्ट्राइकर हाम्जा अलीको प्रहार चाहिँ दीपले रोक्न सकेनन् । त्यसअघि ६९औं मिनेटमा अली इयाद ओलवानले पहिलो गोल गरेका थिए ।

फुटबल विश्लेषक सन्जीव मिश्र बुधबारको नतिजाले विगतका विवादबाट शशंकित नेपाली समर्थकलाई राहत मिलेको बताउँछन् । ‘पछिल्लो एक महिनादेखि नेपाली फुटबलमा जुन विवाद आयो र त्यसपछिका धेरै घटनाक्रमले गर्दा नेपाली टिम लगभग नयाँ थियो,’ मिश्र भन्छन्, ‘हिजोको नतिजाका आधारमा भन्ने हो भने नेपाली समर्थकले एक किसिमको राहत पाएका छन् । नेपालमा क्षमतावान फुटबलरको कमी छैन भन्ने सन्देश पनि मिलेको छ ।’

उनका अनुसार एउटै खेलको नतिजाका आधारमा यही टिम नै सर्वोत्कृष्ट भन्न मिल्दैन । तर अवसर पाएका खेलाडीहरुले आफूलाई प्रमाणित गरेका छन् ।

जोर्डनविरुद्ध गरेको प्रदर्शनलाई लिएर प्रशिक्षक अल्मुताइरीले पनि खेलाडीहरुको प्रशंसा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा समर्थकलाई सन्देश लेख्दै उनले भनेका छन्, ‘प्रिय नेपाली समर्थक, तपाईंका खेलाडीले देश, झण्डा र तपाईंका लागि बलियो लडाईं लढे । म मेरा हिरोहरुप्रति गर्व गर्छु । हामी अझै हाम्रो रणनीतिको सुरुवाती चरणमा छौं ।’

नेपालले पछिल्लोपल्ट सन् २०२१ को जुनमा विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेई, जोर्डन र अस्ट्रेलियासँगको खेल कुवेत सिटीस्थित राष्ट्रिय रंगशालामा खेलेको थियो । अहिलेको टिममा भएका नयाँ अनुहारले कुवेतको मौसम र जोर्डनजस्तो बलियो टोलीको दबाबमा कमै खेलेको थियो । ‘हाम्रो टिममा गोलरक्षक र सेन्टर डिफ्ण्डर डेब्यूटेन्ट थिए । विकास (तामाङ)सँग त उमेर समूहको फुटबलको अनुभव पनि छैन । यसरी हेर्दा हामी क्षेत्रीय स्तरमा जुनसुकै देशलाई पनि चुनौती दिन सक्ने अवस्थामा पुगेका छौं,’ मिश्र भन्छन् ।

पछिल्ला केही वर्षदेखि घरेलु फुटबलमा भएको विकास र राष्ट्रिय टिमले पाएको प्राथमिकताका कारण पनि नयाँ र क्षमतावान खेलाडीको पहिचान सहज भएको मिश्र बताउँछन् ।

२०२१ को अप्रिलमा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेयता अल्मुताइरीको प्रशिक्षणमा नेपालले मे २९ मा इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसयताको १३ महिनामा नेपालले आधिकारिक प्रतियोगिता र मैत्रीपूर्ण गरी १८ खेल खेलेको छ । विश्वकप छनोटमा ३, साफ च्याम्पियनसिपको फाइनलसमेत ५ र जोर्डनसँगको पछिल्लो खेल प्रतियोगिताअन्तर्गत थिए । त्यसबाहेक ९ मैत्रीपूर्ण खेल खेलेको छ । यही प्रतियोगिताअघि नेपालले कतारमा तयारी गर्दा टिमोर लेस्टेको यू–२३ र ओमानसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो ।

‘खेलाडीहरको मनोवल बढाउन प्रशिक्षक अल्मुताइरीले एन्फा व्यवस्थापनको सहयोग लिएर वा आफ्नै पहलमा धेरै प्रयास गरेका छन् । उनले जिम्मेवारी लिएपछिको १३ महिनाको अवधि हेर्ने हो भने पनि कुनै न कुनै टिमसँग धेरैभन्दा धेरै मैत्रीपूर्ण खेल खेलेका छौं,’ घरेलु लिग फुटबलका निर्देशकसमेत रहेका मिश्र भन्छन्, ‘घरेलु फुटबलमा पनि कसप्ताहन्तको लिग प्रणालीले प्रतिस्पर्धाको स्तर राम्रो भएको र खेलाडीमा रिकभरी समय पर्याप्त पाएका छन् ।’

अब नेपालले कुबेतसँग शनिबार खेल्नेछ । यो खेलमा पनि जोर्डनविरुद्ध जस्तै प्रदर्शन गरेर नियमित प्रदर्शनको सन्देश दिन सक्नुपर्ने फुटबल विश्लेषक मिश्र बताउँछन् । ‘अहिलेको फुटबलमा समान स्तरका ९०/१०० जना खेलाडी हुनुपर्छ, उनी भन्छन्, ‘यो खेल (जोर्डनविरुद्ध बुधबार राति भएको)बाट एकदुई खेलाडी नहुँदा टिममा ठूलो असर पर्छ भन्ने मानसिकता तोडिए जस्तो लाग्छ ।’

नेपालविरुद्ध जोर्डन नेपाली फुटबल
लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय