
काठमाडौं । अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको कथावस्तुमा आधारित फिल्म ‘डलर एयूडी’ निर्माण हुने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा देवकुमार श्रेष्ठले निर्देशन गर्ने फिल्मबारे जानकारी दिइयो ।
अस्ट्रेलियामा पैसा कमाउनका लागि विद्यार्थी र गैरआवासीय नेपालीले गर्ने संघर्षलाई चित्रण गर्ने फिल्मलाई सन्तोष अधिकारीले निर्माण गर्ने भएका छन् । चर्चित फिल्म ‘आमा’मा सह-लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।
सम्पूर्ण छायांकन अस्ट्रेलियामै गरिने जनाइएको फिल्ममा मेनुका प्रधान, अर्पण थापा र अधिकारीकै मुख्य भूमिका हुनेछ । नाटक निर्देशक चे शंकरले फिल्मको पटकथा लेखेका हुन् ।
फिल्मलाई लिएर कार्यशाला चाँडै सुरु हुने र असार अन्त्यदेखि छायांकन सुरु हुने निर्देशक श्रेष्ठले जानकारी दिए । श्रेष्ठले यसअघि विषालु, गोधुली, एक दिन एक रात, कर्मा लगायतका फिल्म निर्देशन गरेका छन् ।
पछिल्लो समय अस्ट्रेलिया नेपाली फिल्मको सबैभन्दा ठूलो विदेशी बजार बनेको छ । ‘कबड्डी ४’ले अस्ट्रेलियाली डायस्पोरामा झण्डै २ करोड रुपैयाँ ग्रस कमाउने प्रक्षेपण गरिएको छ ।
प्रतिक्रिया 4