
काठमाडौं । दीपकराज गिरीसहितको ‘छक्कापञ्जा’ टिम आगामी फिल्मको पटकथा लेखनलाई अन्तिम रुप दिन पोखरा पुगेको छ । दीपकसहित निर्देशक हेमराज बीसी त्यसतर्फ लागेका छन् ।
अनलाइनखबरसँग कुरा गर्दै निर्माता एवं अभिनेता गिरीले नयाँ फिल्म ‘छक्कापञ्जा ४’ वा ‘माग्ने राजा’मध्ये कुनै एक हुनसक्ने बताए । ‘स्क्रिप्ट एउटै हो, तर लेखनलाई अन्तिम रुप दिंदा फिल्मले यी दुईमध्ये एउटा नाम पाउनेछ,’ उनले भने ।
आन्तरिक छलफलपछि मात्र शीर्षक सार्वजनिक गर्ने गिरीको तयारी छ । ‘अहिलेसम्म छक्कापञ्जा ४ नै छ । भोलि गएर माग्ने राजा पनि हुनसक्छ, तर यसबारे अन्तिम निर्णय भइसकेको छैन,’ उनले भने ।
असार पहिलो साता हुने मुहूर्तमा फिल्मको शीर्षक सार्वजनिक गर्ने तयारी छ । फिल्मले जुनसुकै शीर्षक पाए पनि निर्देशकमा बीसी अनुबन्धित भइसकेका छन् । साथै, दीपाश्री नै सधैंभरिको लागि निर्देशक हुन जरुरी नभएको भन्दै गिरीले ‘छक्कापञ्जा ४’ समेत हुनसक्ने संकेत पनि दिएका छन् ।
यसै साता स्क्रिप्टलाई अन्तिम रुप दिने दीपकले बताए ।
प्रतिक्रिया 4