+

डिपाए पेनाल्टीमा चुक्दा नेदरल्याण्ड्स बराबरीमा रोकियो

२०७९ जेठ  २९ गते ८:०४ २०७९ जेठ २९ गते ८:०४
डिपाए पेनाल्टीमा चुक्दा नेदरल्याण्ड्स बराबरीमा रोकियो

२९ जेठ, काठमाडौं । मेम्फिस डिपाएले इन्जुरी टाइममा पेनाल्टी चुकाउँदा युईएफए नेसन्स लिगमा नेदरल्याण्ड्सले पोल्याण्डसँग २-२ को बराबरी खेलेको छ ।

दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गरेको नेदरल्याण्ड्सले पेनाल्टीमा गोल गर्न नसक्दा जित नजिक पुगेर बञ्चित भएको हो । इन्जुरी टाइममा पेनाल्टी पाएपछि नेदरल्याण्ड्सलाई ३ अंक जोड्ने मौका थियो । तर डिपाएको प्रहार पोष्टमा लाग्यो ।

त्यसअघि म्याटी कासले १९औं र पिटर जेलिन्स्कीले ४९औं मिनेटमा गोल गर्दै पोल्याण्डलाई २-० ले अग्रता दिलाएका थिए । तर ड्याभी क्लासनेले ५१औं र डेन्जल डुमफ्राइसले ५४औं मिनेटमा गोल गरेपछि नेदरल्याण्ड्सले पुनरागमन गर्दै खेल २-२ को बराबरी गरेको थियो ।

बराबरीपछि पनि ७ अंक जोडेको नेदरल्याण्ड्स लिग ए अन्तर्गत समूह डी कको शीर्ष स्थानमा छ । ४ अंक जोडेको पोल्याण्ड तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा बेल्जियम र वेल्स पनि बराबरी खेलेका छन् । वैकल्पिक खेलाडी ब्रेनन जोनसनले ८६औं मिनेटमा गोल गरेपछि वेल्सले बेल्जियमलाई १-१ को बराबरीमा रोकेको हो । त्यसअघि युरी थिलेमन्सले ५१औं मिनेटमा गोल गर्दै बेल्जयमलाई अग्रता दिलाए पनि त्यसलाई कायम राख्न सकेन ।

बराबरीपछि ४ अंक जोडेको बेल्जियम दोस्रो स्थानमा छ । लगातार दुई हारपछि पहिलो अंक जोडेको वेल्स पुछारमा छ ।

नेदरल्याण्ड्स युईएफए नेशन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय