
२९ जेठ, काठमाडौं । नेपालका विमानस्थलमा बँदेल, स्याल तथा कागको आतंक बढ्दै गएको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान सुरक्षा छानबिन समितिले बुझाएको प्रतिवेदनले पछिल्ला वर्षहरुमा विमानस्थलमा जनावर र चराको आतंक बढ्दो क्रममा रहेको देखाएको छ । खासगरी कोरोना महामारीको समयमा विमान कम चलेको समयमा बाहेक विमानस्थलहरुमा जनावर र चराको आतंक निरन्तर रहेको देखिएको छ ।
नेपालका विमास्थलमध्ये काठमाडौंमा कागको आतंक धेरै देखिने गरेको छ । भैरहवा, नेपालगञ्ज र विराटनगर भने वन्यजन्तुका कारण असुरक्षित देखिएका छन् । यी विमानस्थलमा बँदेल, स्यालजस्ता जनावरसँग जहाज ठोक्किने घटना धेरै भइरहेका छन् । समितिको प्रतिवेदनले भनेको छ, ‘वन्यजन्तुको क्रियाकलापका कारण हवाई सुरक्षामा चुनौती र जटिलता थपेको छ ।’
त्रिभुवन विमानस्थलमा चराका कारण तीन वर्षमा ४९ वटा घटना
नेपालका विमानस्थल चराका कारण सबैभन्दा बढी जोखिममा काठमाडौंको त्रिभुवन विमानस्थल पर्छ । तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा ४९ वटा घटना भएका छन् ।
सन् २०१९ मा काठमाडौंमा चराका कारण १९ वटा घटना भएका थिए । यस्तो संख्या सन् २०२० मा ९ वटामा झरेको थियो । यो संख्या सन् २०२१ मा भने २१ वटा पुगेको छ । सन् २०२० मा घटना कम भएको देखिनुमा यस वर्ष कोरोना भाइरसको महामारीका कारण हवाई उडान नै कम भएका थिए ।
चराको आतंक काठमाडौंपछि पोखरामा धेरै देखिएको छ । यसबाहेक विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भैरहवा, चन्द्रगढी, सिमरा, रामेछाप, राजविराज, सुर्खेत, बाजुरासहितका विमानस्थल समेत चराका कारण जोखिममा रहेको देखिएको छ ।
जनावरको आतंक भैरहवा, विराटनगर र नेपालगञ्जमा धेरै
प्रतिवेदन अनुसार जनावरको आतंक भने भैरहवा, विराटनगर र नेपालगञ्जमा धेरै देखिएको छ । सन् २०२१ मा जनावरका कारण नेपालगञ्जमा ५, भैरहवा र विराटनटरमा चार/चार वटा घटना भएको छ ।
काठमाडौंमा सन् २०० र २१ मा जनावरको गतिविधिले घटना भएको रेकर्ड छैन । भरतपुर, लुक्ला, जनकपुर, चन्द्रगढी र सिमरा विमानस्थलमा समेत जनावरका कारण घटना भएको तथ्यांकले देखाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एभिएसन सेफ्टी टिमले तयार पारेको अर्को एक तथ्यांक अनुसार नेपालमा सामान्यतया जहाज अवतरण गर्दा वन्यजन्तुको बढी सामना गर्नु परेको छ । त्यसपछि धावनमार्गमबाट उडान गर्ने क्रममा घटना हुने गरेको छ । चरासँग भने टेकअफ, ल्यान्डिङ र अप्रोच तीन वटै बेला जोखिमको सामना गर्नु पर्छ । चरा र जनावरसँग जहाज ठोक्किँदा ठूलो दुर्घटना टरिहालेमा पनि वायुयान र उनीहरुको व्यापारमा भने ठूलो क्षति हुने गर्छ । अघिल्लो साता जजिरा एयरवेजको जहाज भैरहवा विमानस्थलमा अवतरण गर्दा चरा ठोक्किएपछि एक दिन उडान नै रद्द गरी रोकिनु परेको थियो ।
न्यूनीकरण गर्न के–के गरिन्छ ?
गत १६ कात्तिक २०७८ मा नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएर दुर्घटनामा परेपछि विमानस्थल आसपास रहेको झाडी फडानी गर्न थालिएको थियो । त्यसबेला धेरैले घटना भइसकेपछि एक्सनमा उत्रिएको भन्दै प्राधिकरणको आलोचना गरेका थिए ।
नेपालमा वन्यजन्तु र चराचुरुङ्गीका कारण उडान सुरक्षामा पर्ने जोखिम न्यूनीकरणबारे धेरै बहस भए पनि कार्यान्वयनमा कमजोरी देखिने गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौंमा विमानस्थलको सुरक्षामा फोहोरले बढी चुनौती दिने गर्छ ।
सडकमा असरल्ल छाडिने फोहोर र त्यसमा झुम्मिने कागको बथानका कारण यहाँ बढी जोखिम हुने गर्छ । वर्षायाममा गड्यौंला बढी बाहिर देखिने र त्यसको शिकारमा आउने चराले समेत बढी भूमिका खेल्ने गरेको प्राधिकरणको भनाइ छ । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार यहाँ ‘वर्ड स्क्यानिङ डिभाइस’मार्फत चरा भगाउने गरिएको छ ।
जहाजलाई चराबाट जोखिम हुने देखिएपछि बम विष्फोट जस्तै हुने गरी डिभाइस पड्काएर चरा धपाउने गरिन्छ । गड्यौंला नियन्त्रण गर्न ठेक्का नै लगाएर धावनमार्ग आसपास केमिकल छर्किने गरिएको छ ।
प्रतिक्रिया 4