
३० जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले तत्काल किसानका लागि आवश्यक मलको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सांसद राईले किसानको लागि अतिआवश्यक मलको व्यवस्था तत्काल गर्न नसके सरकारको औचित्य समाप्त हुने चेतावनीसमेत दिए ।
सोमबार प्रतिनिधिसभा बैठकमा पार्टी संसदीय दलको तर्फबाट प्रस्तुत रासायनिक मल र त्यसको भण्डारणसम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै उनले मलको अभावमा किसानहरु छटपटाई रहेको उल्लेख गर्दै सरकारले त्यसको व्यवस्था मिलाउन ढिलाई गर्न नहुने बताए ।
सांसद राईले जनप्रतिनिधिको रुपमा आफूहरुलाई जनताले मलको व्यवस्था कहिले हुन्छ ? भनेर प्रश्न गरिरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले प्रश्न गरे, ‘मलको समेत व्यवस्था गर्न सक्दैन भने यो सरकारले देश र जनताको निम्ति के गर्न सक्छ भन्ने गम्भीर प्रश्न उठेको छ । म यति मात्रै भन्न चाहन्छु–यो मल कहाँ आइपुग्यो ? यो मल कहिले आइपुग्छ ? र, जनताले कहिले खेतीपाती गर्न पाउने व्यवस्था हुन्छ ?’
सांसद राईले बेलैमा मलको आवश्यक व्यवस्था मिलाउने काम नगरेको भन्दै सरकारप्रति आक्रोश समेत व्यक्त गरे ।
प्रतिक्रिया 4