
३० जेठ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका– ११, घान्द्रकमा सुनदेवी गुरुङले होमस्टे चलाउन थालेको धेरै वर्ष भइसकेको छ । तर अहिलेसम्म कुनै तालिम नलिएपनि होमस्टेमा आएका पाहुनालाई घरकै सदस्यजसरी व्यवहार गर्नुपर्छ भन्ने उनलाई थाहा छ ।
घान्द्रुक पर्यटकीय गाउँ भएकाले पनि सुरुवाती समयमा गुरुङलाई सजिलो भए पनि अहिले त्यस्तो छैन । सुविधा सम्पन्न र ठूला लगानीमा होटल तथा रेस्टुरेन्ट खुल्दा अहिले व्यवसाय नै धरापमा पर्ने हो कि भन्ने चिन्ता उनलाई छ ।
‘हाम्रो घान्द्रकलाई टुरिस्ट एरिया भन्छ । पाहुना आउँछन् तर, होमस्टेमा आएर पनि भए भरको सुविधा खोज्छन्’, गुरुङ भन्छिन्, ‘होमस्टेमा बस्छौं भन्ने अट्याच बाथरुम खोज्ने, होटलकै सरह सेवा सुविधा खोज्दा हामीलाई पनि अप्ठेरो भएको छ ।’
स्थानीय एक आमा समूहको अध्यक्षसमेत रहेकी सुनदेवी घान्द्रुकमा ठूला होटलको चपेटामा आफूहरु परेको गुनासो गर्छिन् । आवश्यक तालिमको अभाव भए पनि जसोतसो जानेबुझेको तरिकाले होमस्टे चलाइरहेको उनले बताइन् ।
घान्द्रुकमै होमस्टे चलाइरहेकी राधा गुरुङ यसपटक वडासदस्य भएकी छन् । पाहुनाको सत्कार गर्दागर्दै जनप्रतिनिधि भएकी उनी अब स्थानीय महिला पर्यटन व्यवसायीको व्यक्तित्व विकास गर्न विभिन्न तालिमहरुको आयोजना गर्ने योजनामा छिन् ।
‘होमस्टे चलाइरहेका छौं । तर, पाहुनाहरुलाई कसरी स्वागत गर्ने, कसरी बिदाइ गर्ने भन्ने नै थाहा छैन । यति ठूलो र राम्रो पर्यटकीय ठाउँमा एउटा पनि सामुदायिक होमस्टे पनि छैन,’ उनले भनिन्, ‘अब यसतर्फ ध्यान दिनुपर्छ ।’
पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटन व्यवसाय गरिरहेका महिला र घान्द्रुकमा व्यवसाय गरिरहेका महिलाले शनिबार अनुभव आदान प्रदान गरेका हुन् । आफूहरुले व्यवसाय चलाइरहँदा कस्ता अप्ठेरा आउँछन् र तिनका समाधान कसरी हुन्छ भन्नेबारे अन्तक्र्रियामा सहभागी वक्ताहरुले राम्रैसँग मन माझे । कार्यक्रममा साहसिक पदयात्रा र हिमाल आरोहणबारे आरोहीद्वय निरमा राई र हिरा मल्लले पनि अनुभव बाँडे ।
नेपाल पर्यटन बोर्डको सहयोग तथा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) ले लेकसाइड र घान्द्रुकका महिला पर्यटन व्यवसायीलाई अनुभव आदान प्रदान र छलफल गर्ने अवसर जुराइदिएको हो । कार्यक्रममा उनीहरुले पर्यटन बोर्डले घान्द्रुकका महिला पर्यटन व्यवसायी लक्षित कार्यक्रम ल्याउन समेत माग गरे ।
महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) अध्यक्ष तथा पर्यटन व्यवसायी पार्वता पाण्डेले महिला पर्यटन व्यवसायीले व्यवसायसँग मात्रै नभएर देशको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याइरहेको भए पनि राज्यले अनुभूत नगरेको गुनासो गरिन् ।
पाण्डेले महिला व्यवसायी एकीकृत नहुँदा राज्यले समेत बेवास्ता गरेको बताइन् । ‘अब महिला पर्यटन व्यवसायीहरु एकजुट हुनुपर्छ । व्यवसायमात्रै नभएर हामीले देशको अर्थतन्त्रमा ठूलो सहयोग गरिरहेका छौं । तर, त्यसको उचित सम्मान छैन’, उनले भनिन् ।
वोटेफ उपाध्यक्ष उमा भण्डारीले लेकसाइड र घान्द्रकका महिला व्यवसायी अब व्यवसायिक रुपमा पनि साथसाथै अघि बढ्नुपर्ने बताइन् । ‘हामी कहाँ आएका अधिकांश पाहुना घान्द्रक नै आउने हुन् । कतिपयलाई हामी आफैं पनि पठाइरहेका हुन्छौं’, उनले भनिन्, ‘त्यसैले घान्द्रुक र लेकसाइडका महिला पर्यटन व्यवसायीबीच सहकार्य जरुरी छ ।’
कार्यक्रममा नेपाल पर्यटन बोर्ड, गण्डकीका अधिकृत जयशक्ति सर्राफले घान्द्रुकबासीले आफ्नो मौलिकता बचाएर अघि बढ्न सुझाव दिए । गण्डकीको पर्यटनमा घान्द्रुकले ठूलो हिस्सा राख्ने भएकाले बोर्डले पनि पर्वद्र्धनका लागि महत्व दिँदै आएको बताए ।
‘बोर्डले प्रत्यक्ष भौतिक पूर्वाधारमा लगानी गर्ने होइन, प्रवद्र्धनमा लगानी हो । सबैले बोर्डको काम र सीमाबारे बुझिदिनुपर्यो,’ सर्राफले भने, ‘हामीले विदेशीलाई बोलाउँदा पनि घान्द्रुक नै देखाउने हो ।’ उनले घान्द्रुकको प्रवर्द्धनका लागि बोर्ड सहयोग गर्न तयार रहेको सुनाए ।
प्रतिक्रिया 4