
काठमाडौं । फिल्म ‘अप्सरा’बाट करिअर थालेकी अभिनेत्री सञ्चिता लुइँटेल केही वर्षदेखि पारिवारिक जीवनमै बढी व्यस्त छिन् । केही फिल्ममा काम गर्नुबाहेक सञ्चिताको व्यस्तता परिवारमै देखिएको छ ।
तर अब उनी एक रियालिटी शोको निर्णायक बन्ने भएकी छन् । इन्ट्रा फाउन्डेसनले आयोजना गरेको ‘मेरो डान्स कप यूएसए-४’को निर्णायकमा उनी अनुबन्धित भएकी छन् ।
उक्त रियालिटी शोको उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीहरुको बाँकी चरणको प्रतिस्पर्धा नेपालमा हुँदैछ । अमेरिका र क्यानडामा रहेका नेपालीभाषी प्रतिभाको चर्चित रियालिटी शोमा निर्णायकको भूमिकामा काम गर्न पाउँदा खुसी लागेको सञ्चिताले बताइन् ।
सञ्चितासँग सम्झौता गरेपछि बोल्दै इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष सञ्जीत भण्डारीले चर्चित अभिनेत्रीलाई शोमा भित्र्याउन पाउँदा आफूहरु उत्साहित भएको बताए ।
ग्यालेक्सी टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, शिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायत छन् ।
संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको शोले नेपालीभाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउने आशा गरिएको छ । रियालिटी शोको निर्देशक एलिन श्रेष्ठ हुन् ।
‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा सञ्चिता जोडिएपछि अब ६ जना निर्णायकले प्रतिस्पर्धीको प्रतिभाको मूल्यांकन गर्नेछन् । यो शोको निर्णायकमा मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर बीसी र नरमान राई पनि रहनेछन् ।
प्रतिक्रिया 4