
३१ जेठ, काठमाडौं । उत्तरी बुर्किना फासोमा शंकास्पद जिहादीहरूले गरेको आक्रमणमा कम्तीमा ५० जना सर्वसाधारणको मृत्यु भएको छ ।
शनिबार राति सेटेंगा गाउँमा हमला भएपछि सेनाले अहिलेसम्म ५० शव फेला पारेको सरकारी प्रवक्ता लियोनेल बिल्गोले जानकारी दिएका छन् ।
जनवरीमा सैनिक विद्रोहपछिको यो सबैभन्दा रक्तपातपूर्ण झडपहरू मध्येको एक हो भन्दै उनले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन् ।
पीडितहरूका आफन्तहरू सेतेंगा फर्केका र शवहरू लगेका हुन सक्ने बिल्गोले पत्रकार सम्मेलनमा बताए ।
ईयूले आक्रमणमा १ सय भन्दा बढी नागरिक पीडित भएको हुनसक्ने बताएको छ ।
सेटेंगा आसपासका क्षेत्रका मानवीय संस्थाहरूले गाँउबाट भागेका करिब तीन हजार मानिसलाई छिमेकी सहरमा राखिएको बताएका छन् ।
भूपरिवेष्ठित सहेल राज्य सात वर्ष पुरानो जिहादी विद्रोहको चपेटामा छ जसले दुई हजार भन्दा बढीको ज्यान लिइसकेको छ र करिब १९ लाख मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ ।
– एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4