३१ जेठ, काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी महिला टी-२० च्याम्पियनसिपमा सहभागी हुने नेपाली राष्ट्रिय महिला टोलीलाई बिदाइ गरिएको छ ।
काठमाडौंमा एक कार्यक्रम गरी राष्ट्रिय खेलकुद परिषद राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीले खेलाडीलाई विदाइ गरेका हुन् ।
रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली बुधबार मलेसिया प्रस्थान गर्ने भएको छ । टिममा परेकी मनिषा उपाध्यायको स्वास्थ्यमा समस्या आएका कारण उनी टिमसँग मलेसिया जान नपाउने भएकी छिन् । लेगस्पिनर हिरन्मईको ठाउँमा मनिषालाई टिममा राखिएको थियो । तर उनी पनि नहुँदा टिममा स्पिनरको अभाव हुने भएको छ ।
असार ३ देखि ११ गतेसम्म मलेसियामा हुने यो प्रतियोगितामा सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह बी मा बहराइन, भुटान, हङकङ र कुवेत छन् । समूह ए मा आयोजक मलेसिया, ओमान, कतार, सिंगापुर र युएई छन् । समुह चरणका खेलपछि शीर्ष दुईले सेमिफाइनल खेल्नेछन् ।
नेपालको मुख्य लक्ष्य भनेको च्याम्पियनसिप जितेर आउने रहेको कप्तान क्षेत्री तथा प्रशिक्षक जगत टमाटाले बताएका छन् ।
विदाइ कार्यक्रममा रुविनाले भनिन्, ‘खेलेको धेरै वर्ष हुँदा पनि उपाधि जित्न सकेका छैनौं । युगान्डाको सिरिजले हामीलाई हाम्रो स्तर थाहा भयो । हामीले उपाधि जित्ने लक्ष्य लिएर जानेछौं ।’
प्रशिक्षक टमाटाले पनि टिमले राम्रो रिजल्ट दिनेमा विश्वस्त रहेको बताए । एक्सपोजर अझै भएमा अझ राम्रो गर्न सक्ने उनको भनाइ छ ।
तस्वीर : चन्द्र आले/अनलाइनखबर
प्रतिक्रिया 4