
३१ जेठ, काठमाडौं । अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) का सन्दर्भमा सांसदहरुले सरकारको जवाफ माग गरेका छन् ।
विनियोजन विधेयक माथि परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई प्रश्न गर्ने क्रममा सांसदहरुले एसपीपीलाई शंकाको घेरामा राखेर जवाफको माग गरेका छन् । एसपीपी अमेरिकाको सैन्य रणनीति इण्डो प्यासेफिकको अंगका रुपमा अघि बढेको भन्दै सांसदहरुले आपत्ति समेत जनाए । सरकार परराष्ट्र नीतिमा एकातिर ढल्केको भन्दै सन्तुलित नीति अबलम्बन नगरेको उनीहरुको आरोप थियो ।
नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले एसपीसी इन्डो प्यासेफिक रणनीतिको अंग भएकाले यसलाई स्वीकार गर्न नहुने बताए । ‘एसपीसी अमेरिकाको इण्डो प्यासेफिकको सैन्य पार्ट हो । एसपीपी स्वीकार नगरियोस् र गर्न हुँदैन । सरकारले आफ्नो दृष्टिकोण सार्वजनिक गरोस्’ उनले भने, ‘एसीसी पारित गर्दा व्याख्यात्मक टिप्पणी अझैसम्म पनि स्पष्ट नभइसकेको समयमा यसलाई पनि ध्यानाकर्षण गराउन चाहन्छु ।’
माओवादी केन्द्रकी सांसद यशोदा सुवेदी गुरुङले एसपीपी रक्षासँग सम्बन्धित भए पनि परराष्ट्र मन्त्रालय मार्फत अघि बढ्नु शंकास्पद रहेको बताइन् । उनले संसदबाट एमसीसी सम्झौता अनुमोदन हुँदा गरिएका व्याख्यात्मक टिप्पणीमा अमेरिकाको अहिलेसम्म धारणा सार्वजनिक नगरेको भन्दै अमेरिकी धारणा नआउँदै एमसीसी आयोजनाको काम अघि बढेको हो भनी प्रश्न गरेकी छन् ।
नेकपा एमालेका सांसद सूर्यप्रसाद पाठकले एसपीपीमा नेपालले हस्ताक्षर गर्न लागेको हो भनी सरकारको जवाफ माग गरे ।
‘एसपीपीमा नेपालले हस्ताक्षर गर्न लागेको हो ? प्रधानमन्त्री र प्रधानमन्त्रीको निकट भविष्यमा अमेरिकाको भ्रमण हुन लागेको चर्चामा आएको छ’ उनले भने, ‘सत्तारुढ घटककै एक सचेतकले स्थगन गर्न माग गर्नुभएको छ । यसमा सरकारको धारणा के हो ?’
एमाले सांसद खेमप्रसाद लोहनीले सरकार दक्षिणतिर बढी ढल्किएको टिप्पणी गरे । ‘एमसीसी र बीआरआईलाई समान महत्व दिनुपर्नेमा एमसीसीलाई मात्रै बढी महत्व किन दिइएको हो’ उनले प्रश्न गरे, ‘एसपीपी मार्फत अमेरिकाको सैन्य गुटमा सामेल हुन लाग्नु कसको स्वार्थको लागि हो ?’
एमाले सांसद राधा ज्ञवालीले सरकार एउटा राष्ट्रतिर ढल्किएको देखिएको टिप्पणी गरिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एसपीपीबारे प्रधानमन्त्री पत्नी आरजु राणाले अमेरिकी उप विदेशमन्त्रीसँग छलफल गरेको समाचार सत्य हो भनी प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4