+
+

सेयर बजार डेढ वर्ष अघिकै बिन्दुमा, लगानीकर्ताको साढे ११ खर्ब बढी गुम्यो

९ महिना अघिबाट ओरालो लाग्न सुरु भएको सेयर बजार नेप्से परिसूचक डेढवर्ष अघिको बिन्दुमा झरेपछि बजारप्रति लगानीकर्ताको मनोबल खस्किंदै गएको छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ ३१ गते २०:१५

३१ जेठ, काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झर्‍यो । ३६.०७ अंकले घटेर बजार १९९६.२६ बिन्दुमा आएर रोकिंदा कारोबार रकम १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ मात्रै भयो । मंगलबारको बजार परिसूचक १७ मंसिर २०७७ कै दिनको हाराहारी हो ।

९ महिना अघिबाट ओरालो लाग्न सुरु भएको बजार परिसूचक डेढवर्ष अघिको बिन्दुमा झरेपछि बजारप्रति लगानीकर्ताको मनोबल खस्किंदै गएको प्रष्टै देखिन्छ ।

२ भदौ २०७८ का दिन नेपाली सेयर बजार हालसम्मकै उच्च बिन्दुमा पुग्यो । सो दिन नेप्से परिसूचक ३ हजार १ सय ९९ बिन्दुमा पुगेको थियो । सेयर बजारमा उछाल आइरहेका बेला बजारप्रति आम लगानीकर्ताको मनोबल र लगानी पनि बढ्दै गयो । जसका कारण दैनिक सेयर कारोबार अधिकतम २२ अर्ब रुपैयाँसम्म पुग्यो ।

तर, सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिमार्फत सेयर कर्जा सीमामा व्यक्तिगतमा ४ करोड र संस्थागतमा १२ करोडको ‘क्याप’ लगाएपछि बजारको ओरोलो यात्रा सुरु भयो । त्यसयताको ९ महिना २९ दिनको अवधिमा नेप्से एक हजार २ सय २ अंकले ओरोलो लागेको छ । बजारमा लगानीयोग्य नगदको अभाव हुनु र बैंकहरुले सेयरमा गर्ने लगानी कटौती गरेसँगै सेयरबजार २ हजारको बिन्दुबाट पनि तल ओर्लिएको छ । जसका कारण लगानीकर्तामा थप निराशा छाएको छ ।

२ भदौमा उच्च बिन्दुमा पुगेको सेयर बजारमा लगानी गर्ने लगानीकर्ताको लगानीको मूल्य ४० खर्ब १० अर्ब थियो । तर, बजारमा आएको उच्च गिरावटका कारण उनीहरुको सम्पत्ति पनि अवमूल्यन हुने क्रम बढेको छ । सेयर लगानीकर्ता छोटेलाल रौनियारका अनुसार केही स्टकको मूल्य ७० प्रतिशतसम्म घटेको छ ।

कुल बजार पूँजीकरण घटेर २८ खर्ब ४४ अर्बमा झरेको छ । यस अवधिको नैरस्यतापूर्ण दोस्रो बजारको ९ महिना २८ दिनको अवधिमा लगानीकर्ताको सम्पत्ति ११ खर्ब ६६ अर्ब गुमिसकेको छ ।

लगानीकर्ताहरुका अनुसार घटेको बजारले गर्दा सेयर धितो राखेर कर्जा लिएका लगानीकर्ता ठूलो मारमा परेका छन् । कर्जा लिएको सम्पत्तिको धितोबापतको सेयरको मूल्य औसतमा ४० प्रतिशत भन्दा बढीले घटेका कारण बैंकको दवामा लगानीकर्ता परेको अर्का एक लगानीकर्ताले बताए । सेयर धितो सल्टाउन अन्तिम विकल्प रहेको जग्गा राखेर धितो सकार्ने उपाय समेत भू–उपयोग नीतिले रोकेपछि लगानीकर्तामा ठूलो नैरश्य पैदा भएको उनको भनाइ छ । ‘सेयर राखेर लिएको ऋणको धितो अवमूल्ययन ४० प्रतिशत भन्दा बढीले हुन थाल्यो,’ उनले थपे, ‘अब बैंकले सेयर सकारेर बिक्री गर्ने अवस्था आउने भयो ।’

ठूला सेयर लगानीकर्ता दिलीप श्रेष्ठ नेपाल राष्ट्र बैंकका कारण बजारको यो अवस्था भएको बताउँछन् । नियमक निकायले साना लगानीकर्ता जोगाउने भन्ने भ्रम देखाएर ठूला लगानीकर्तालाई हालेको बिषले सानालाई भुतुक्कै बनाएको उनी बताउँछन् । खोलामा हालेको बिषको उदाहरण दिंदै उनले भने, ‘बिषले ठूला माछा रन्थनिए मात्रै, साना मरे । अहिले बजारमा भएको त्यही हो । ठूला लगानीकर्ताको लगानी करोडबाट घटेर आधा भएको होला तर सानाको त लाखबाट हजारमा झर्‍यो नी ।’ नेपाली पैसामै हुने ठूलो स्वदेशी लगानी र कारोबारबारे कुतर्क गरेर नियामकले बजारलाई निरुत्साहित गरेको उनले बताए । श्रेष्ठले मौद्रीक नीतिमार्फत ४/१२ को क्याप हटाउन सरकारको ध्यानाकर्षण गराए ।

सेयर बजार राम्रो भएको हेर्नै नचाहने नियामकका कारण कुल जनसंख्याको १६ प्रतिशत मानिस सेयर बजारमा फसेको लगानीकर्ता रौनियारको भनाइ छ । ‘५२ लाख डिम्याट, ४२ लाख मेरो सेयर छ र १२ लाख मानिस अनलाईन कारोबार गर्ने लगानीकर्तालाई सरकारले नजरअन्दाज गर्दैछ,’ रौनियारले भने, ‘११ सयबाट ३२ सय पुगेको बजारमा २२ अर्बसम्मको कारोबार भयो । सरकारले राजश्व पनि पायो तर अहिले आयातका लागि मुलुकमबाट लगानी बाहिर पठाउने काम सरकारबाटै भयो ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?