
३१ जेठ, काठमाडौं । मंगलबार बिहान ८ः४५ बजेतिर मिना भण्डारी बस्नेत दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित आफ्नो घरमा बसिरहेकी थिइन् । गेटबाहिर लु १ झ ५३७ नम्बरको झण्डावाला गाडी आएको देखेपछि उनी तल झरिन् ।
टाढैबाट उनले चिनिहालिन्, गाडीमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वली थिइन् । मिनाका अनुसार वली गेटमा आएर ‘एकराज कहाँ छ ?’ भन्दै कराइरहेकी थिइन् । ‘मन्त्री आउनुभएको भन्ने थाहा पाएपछि चाबी लिएर गएर गेट खोलें’ मिनाले अनलाइनखबरसँग भनिन्, ‘केही सोध्नै नपाई उहाँ ममाथि झम्टिन थाल्नुभयो ।’
उनले सुरुमा ‘कसलाई खोज्नुभयो’ भन्दै सोधेकी थिइन् । उनका अनुसार श्रीमान् एकराज बस्नेत एकदिन अघि काम विशेषले बाहिर गएका थिए । ‘श्रीमान् नभएको बताउने वित्तिकै उहाँले एक्कासी मेरो कपाल भुत्ल्याउन थाल्नुभयो’ उनी भन्छिन्, ‘मलाई लात्ती र मुक्काले पनि हान्नुभयो ।’ उनका अनुसार वली उनलाई गाली गर्दै घरतिर छिरिन् । ‘श्रीमान् खोई ? भन्दै भित्र आएपछि मेरो ‘भिभो’ मोबाइल पनि भित्तामा हानेर फालिदिनुभयो’ मिना भन्छिन् ।
उनका अनुसार मन्त्री वलीसँग उनको निजी सुरक्षामा खटिएका दुईजना सुरक्षाकर्मी पनि साथमै थिए । ‘मलाई हातपात गरुञ्जेल उहाँहरु हेरेर मात्र बस्नुभयो,’ मिना भन्छिन्, ‘मैले प्रतिवाद गर्दा चाहिं उहाँका सुरक्षाकर्मीले रोके ।’
वलीले अपशब्द प्रयोग गर्दै दराज तोडफोड गरेको र कपडाहरु छरेको भन्दै मिनाले भनिन्, ‘मलाई पिट्न थालेपछि मेरो छोरी एञ्जिला रुँदै छुट्याउन आइन्, तर छोरीलाई पनि उहाँले समातेर लछारपछार गर्दै हातपात गर्नुभएको थियो ।’
छिमेकीहरु पनि आएपछि अंगरक्षकले एउटा कोठामा लगेको र भित्रबाट ढोका बन्द गरेर बसेको उनी बताउँछिन् । उनका अनुसार राज्यमन्त्री विमलाले नै इलाका प्रहरी कार्यालय, तुलसीपुरमा फोन गरेर प्रहरी बोलाएकी थिइन् ।
मीनाले आफूमाथि कुटपिट भएको बताएपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लियो । सुरुमा नारावाजी र प्रदर्शनका कारण उनकै सुरक्षामाथि खतरा देखिएको भन्दै इलाका प्रहरी कार्यालय लगेको थियो । तर अपरान्ह मिनाले राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारको कसूरमा किटानी जाहेरी दिइन् ।
जिल्ला प्रहरी कार्यालय, दाङका प्रमुख एसपी सुरेश काफ्लेको भनाइमा जाहेरीमाथि अहिले जाँचबुझ गर्ने काम भइरहेको छ । ‘उहाँ नियन्त्रणमै हुनुहुन्छ, घटना के भएको भन्ने बुझिरहेका छौं’ काफ्लेले अनलाइनखबरसँग भने ।
पीडित पक्षले भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले राज्यमन्त्री वलीलाई छाड्न दबाब दिएका कारण जाहेरी दर्तामा आनाकानी भएको बताएको छ ।
तर दाङका प्रहरी प्रमुख एसपी काफ्ले चाहिँ घटना बाहिर सार्वजनिक भएजति मात्रै नभएको बताउँछन् । ‘जाहेरीमाथि गहिरो अनुसन्धान गर्नुपर्ने देखिएको छ, उहाँहरुबीच पहिल्यैदेखि अन्य विषयमा पनि विवाद रहेछ’ काफ्लेले भने, ‘लेनदेनको कुरा पनि आएको छ । के कति भन्ने चाहिँ स्पष्ट भइरहेको छैन ।’
इलाका प्रहरी कार्यालय तुल्सीपुरका एक अधिकृतका अनुसार विमलाले प्रारम्भिक बयानका क्रममा आफूले एकराज बस्नेतबाट लाखौं रुपैयाँ लिनुपर्ने बताएका छन् ।
‘पछिल्लो समय फोन पनि उठाउन छाडेको थियो, मेरो पैसा खाएर भागेपछि खोज्दै घरमै गएको हुँ’ विमलाको भनाइ उदृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘पैसा लगेको सबै हिसाब प्रहरी कहाँ बुझाउँछु ।’ बस्नेत आफ्नो नाताभित्रको व्यक्ति भएको भन्दै उनले बाहिर गलत प्रचार गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छन् ।
राज्यमन्त्री वली नेकपा एमालेबाट दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तरकुमार वलीको श्रीमती हुन् । उत्तरकुमारको सवारी दुर्घटनामा मृत्यु भएपछि भएको उपनिर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट उनी प्रदेश सांसद निर्वाचित भएकी थिइन् । पार्टी विभाजन भएपछि उनी नेकपा एमाले र माओवादी कन्द्रको तानातानमा परेकी थिइन् ।
एमालेलाई सरकार जोगाउन उनको साथ चाहिएको थियो भने माओवादी केन्द्रले नयाँ सरकार बनाउन उनलाई आफ्नो पक्षमा तान्न खोजेको थियो । त्यस क्रममा आफूलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले बन्धक बनाएको आरोप लगाउँदै उनले पत्रकार सम्मेलन गरेकी थिइन् । पोखरेलले राजीनामा दिएपछि बनेको कुलप्रसाद केसी नेतृत्वको सरकारले वलीलाई स्वास्थ्य राज्यमन्त्री बनाएको थियो ।
त्यसको केही समयपछि एकराज र विमालको एउटा ‘विवादास्पद’ तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि उनी विवादमा मुछिएकी थिइन् । विमलाले भने एकराज आफ्नो भाइ पर्ने भन्दै ‘एडिट गरेको तस्वीर प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको’ आरोप लगाएकी थिइन् ।
मंगलबार उनी एकराजको घरमा पुगेर परिवारको सदस्यमाथि कुटपिट गर्नु उदण्डता भएको भन्दै वलीको आलोचना भएको छ ।
पीडित मिना स्वयम्ले अनलाइनखबरसँग कुरा गर्दै भनेकी छन्, ‘एउटा मन्त्रीजस्तो मान्छेले गरेको हर्कतबाट अरुले के सिक्ने ?’ मुख्यमन्त्री केसीले पनि उनलाई संरक्षण गर्न खोज्नु आश्चर्यजनक भएको भन्दै भनिन्, ‘म पीडित हुँ, कसैको दबाब प्रभावमा नपरी प्रहरी प्रशासनले मलाई न्याय देओस् ।’
प्रतिक्रिया 4