+

हामीले कमजोरी सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी

२०७९ असार  १ गते १०:५८ २०७९ असार १ गते १०:५८
हामीले कमजोरी सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी

१ असार, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् ।

एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि  गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘प्रिय नेपाली समर्थकहरु, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उनले लेखेका छन्, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरु । अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’

यस्तै अल्मुताईरीले एसियन कप छनोटमा खराब प्रदर्शनको दोष आफूलाई जाने भन्दै खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् । ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,’ अलमुताईरीले लेखेका छन् ।

अर्को वर्ष हुने एसियन कपका लागि कुवेतमा अन्तिम चरणको छनोट खेलेको नेपाल सबै तीन खेल हार्दै अंकविहिन भएर समूह ए को पूछारमा रह्यो । पहिलो खेलमै बलियो जोर्डनसँग २-० ले पराजित रहँदा पनि प्रशंसा बटुलेको नेपाली टोलीको प्रदर्शन अन्तिम खेलमा आउँदा लज्जास्पद रह्यो ।

दोश्रो खेलमा घरेलु टोली कुवेतसँग ४-१ ले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भयो ।

कुवेत विरुद्धको दोश्रो खेलमा अचेत भएर मैदान ढलेका प्रशिक्षक अल्मुताइरी अन्तिम खेलमा भने टेक्निकल एरियामा थिएनन् । प्रशिक्षक किरण श्रेष्ठ डगआउटमा थिए ।

नेपालले खेलेको तीनवटै विपक्षी नेपाल भन्दा बलियो र माथिल्लो वरीयताका टिम हुन् । अहिलेसम्म नेपालले यी तीनै टिमलाई हराउन सकेको छैन ।

खेलाडी र प्रशिक्षक विवाद पछि नियमित कप्तान किरण कुमार लिम्बुसहित ११ खेलाडी बाहिर राख्दै अल्मुताइरीले नयाँ टोली लिएर कुवेत पुगेका थिए।

दुई महिनाअघि काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरेकै दिन अल्मुताइरीले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताएका थिए । जसले गर्दा उनको आलोचना समेत भयो । त्यसपछि होटलमा कि होस्टलमा बस्ने विषयबाट सुरु भएको विवादले गर्दा १० जना खेलाडीले प्रशिक्षण छाडे । माल्दिभ्सबाट खेलाडीको समर्थनमा सामाजिक सञ्जालमा लेखेका किरण पनि टिममा परेनन् ।

त्यसपछि अल्मुताइरीले नयाँ र कम अनुभवी खेलाडी लिएर कुवेत गए । जहाँ उनले पहिलो पटक टिममा परेका चार मध्ये तीन खेलाडीलाई डेब्यु गराए ।

तीन अनक्याप्ड गोलकिपर मध्ये दीप कार्कीले पनि डेब्युको अवसर पाए । पहिलो खेलमा दीपसहित डिफेण्डर विकास तामाङले डेब्यु गरेका थिए । तेश्रो खेलमा डिफेण्डर शिव गुरुङ र मिडफिल्डर निर कुमार राईले डेब्यु गरे ।

मिडफिल्डर रोसन राना मगरले भने डेब्यु गर्ने अवसर पाएनन् । यस्तै किरण टिममा नपरेपछि नवयुग श्रेष्ठले यसपटक नेपालको नेतृत्व गरे । जोर्डन र कुवेत विरुद्ध कप्तानी गरेका नवयुगलाई विश्राम तेश्रो खेलमा विश्राम दिएर पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो ।

छनोटमा १३ गोल खाएको नेपालले मात्र १ गोल गरेको छ । त्यो गोल दर्शन गुरुङ्गले कुवेतविरुद्ध गरेका थिए ।

अलमुताइरी नेपाली फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय