
१ असार, गोरखा । विना अनुमति सामुदायिक वन क्षेत्रबाट सालको रुख काटेको आरोपमा भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डे सहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
भीमसेन थापा चक्रपथ निर्माणको लागि भन्दै विना अनुमति सालका रुखहरु काटेको भन्दै उजुरी परेपछि उनीहरु बिरुद्ध कारवाही प्रक्रिया अघि बढाइएको डिभिजन वन कार्यालय गोरखाले जनाएको छ ।
भीमसेन थापा चक्रपथ निर्माणको लागि भन्दै उनीहरुले वडा नम्वर ८ स्थित भवानी सामुदायिक वन क्षेत्रबाट १ सय ३९ वटा सालको रुख काटेको खुल्न आएको अनुसन्धान अधिकृत सुरेशकुमार भुजेलले बताए ।
‘हाम्रो कार्यालय मात्र होइन सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहको पनि सहमति रहेनछ’, उनले भने, ‘कार्यालयमा उजुरी परेपछि हामीले अनुसन्धान थालेका हौं ।’ गाउँपालिका पूर्व अध्यक्ष पाण्डेसहित वन उपभोक्ता समूहका अध्यक्ष राम ढकाल, सचिव हर्क बहादुर खत्री, सहसचिव टेकबहादुर गुरुङ, स्थानीय मानबहादुर गुरुङ र कृष्णबहादुर भट्ट बिरुद्ध पक्राउ पुर्जी जारी भएको उनले जानकारी दिए ।
उपभोक्ता समूहका अध्यक्ष राम ढकाललाई पक्राउ गरिसकिएको र बाँकीको खोजी कार्य जारी रहेको उनले बताए । ‘उजुरी परेपछि हामीले सम्पर्कमा आउनू भनेर समितिलाई पत्राचार ग¥यौं तर सम्पर्कमा नआएपछि अदालतको सहमति लिएर पक्राउ पुर्जी जारी गरेका हौं’, उनले भने । उनीहरुलाई वन ऐन २०७६ अन्तर्गत बिगोको दोब्बर जरिवाना वा दुई बर्ष कैद वा दुवै सजाय हुनसक्ने अनुसन्धान अधिकृत भुजेलले जानकारी दिए ।
समितिका पदाधिकारीको हकमा २० हजार जरिवाना र एक बर्ष कैद सजाय थप हुन सक्ने बताइएको छ । विना अनुमति काटिएका रुखहरुमध्ये केही बरामद गरिएको र केही वन क्षेत्रमै रहेको कार्यालयले जनाएको छ ।
‘चिरान गरिएका केही काठहरु हामीले बरामद गरिसक्यौं, केही काठहरु वन क्षेत्रमै छन्’, अनुसन्धान अधिकृत भुजेलले भने ।
प्रतिक्रिया 4