
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानको काठमाडौं कन्सर्ट स्थगित भएको विषयमा संसदमा प्रष्टीकरण दिएका छन् ।
पर्यटन प्रवद्र्धन गर्न नेपाली कलाकारलाई प्रयोग नगरी किन सलमान खानलाई ल्याउनु परेको भन्दै कांग्रेस सांसद पार्वती डीसी चौधरीले आलेलाई प्रश्न गरेकी थिइन् ।
जवाफमा मन्त्री आलेले सलमानको कन्सर्ट मन्त्रालयले नभई निजी क्षेत्रले आयोजना गरेको र बढीभन्दा बढी पर्यटक ल्याउने उद्देश्य रहेको आयोजकले भनेकाले सहजीकरण गरिदिएको बताए ।
सलमानको टिममा आउने कलाकार मुद्दा मामिलामा मुछिएका कारण अदालतको आदेशमा उनीहरु आउन नसक्ने भएकाले कन्सर्ट ढिलो भएको मन्त्री आलेले बताए ।
ओडीसी इन्टरटेनमेन्टले गत जेठ १४ गते दशरथ रंगशालमा कन्सर्ट आयोजना गरेको थियो तर प्राविधिक तयारी नपुगेको भन्दै कन्सर्ट अनिश्चितकालका लागि ‘पोस्टपोन्ड’ भएको छ । कन्सर्टको तयारीबारे मन्त्री आलेले सलमानसँग भर्चुअल संवाद पनि गरेका थिए ।
ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङले दशैंअघि सलमानको कन्सर्ट आयोजना गर्ने तयारीमा आफूहरु जुटेको बताएका छन् ।
प्रतिक्रिया 4