
काठमाडौं । मुलुकको चर्चित र्याप ब्याटल ‘रअ बार्ज’को पाँचौं संस्करण हुने भएको छ । अहिले देशव्यापी कार्यशाला र अडिसन चलिरहेको ब्याटलमा पाँच हजार जनाभन्दा बढीले आवेदन दिएका थिए ।
सन् २०१३ देखि सुरु भएको ब्याटललाई यमबुद्धले सुरु गरेका थिए । उनको देहवसानपछि भने कोलिनविक्रम राणाले चौंथो सिजनसम्म सञ्चालन गरे । पाँचौं सिजनलाई प्रवेश रायमाझीले नेतृत्व गरिरहेका छन् ।
कोरोना महामारीले प्रभावित भएको ब्याटलमा भने यसपटक उत्साहजनक सहभागिता देखिएको छ । कुल प्राप्त आवेदकमध्ये २०० जनालाई छनोट गरेर अहिले काठमाडौं, पोखरा, वीरगञ्ज, धनगढी र चितवनमा कार्यशाला चलिरहेको छ । अन्तिम ४० जना प्रतिस्पर्धीले पाँचौं संस्करणमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
पछिल्लो संस्करणमा प्रतिस्पर्धीका लागि अनुशासनको नियम कडा बनाइएको छ । परिवारलाई लक्षित गरी मुख छाड्न नपाइने र लागूऔषध भेटिए निष्कासन गरिने मापदण्ड राखिएको छ । सोहीअनुसार अहिले कार्यशाला चलिरहेको रायमाझीले बताए ।
‘मुख छाड्ने धेरै जनालाई हटाएका छौं । कतिपयले मोजाभित्र पनि औषधि लुकाएर ल्याउँथे । हामीले त्यस्तोमा पनि कडाइ गर्यौं,’ रायमाझीले भने, ‘मुख छाड्नु मात्र र्याप होइन, र्याप भनेको कथा भन्नु हो । अर्कोतर्फ ड्रग्स लिने मात्र र्यापमा आउँछन् भन्नेछ । हामी यो दृष्टिकोणलाई बदल्न चाहन्छौं ।’
अन्तिम प्रतिस्पर्धा काठमाडौंमा हुनेछ । आगामी सेप्टेम्बरसम्म फिनाले सक्ने तयारीका साथ आफूहरु अघि बढेको रायमाझीले बताए । यसपटक युट्युबसहित टेलिभिजनमा समेत ब्याटल प्रसारणको तयारी छ ।
एएनटीएफको जुरी समेत रहेका लेजी, प्रोफेसर ट्रिक्स, क्रोब्लाहा र कोलिन विक्रम राणा यसपटक निर्णायक छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, लाउरे, साकार रअ बार्जकै उत्पादन हुन् ।
प्रतिक्रिया 4