
१ असार, गोरखा । नेपाली कांग्रेसले पार्टीभित्रै अन्तर्घात हुँदा स्थानीय निर्वाचनमा अनपेक्षित पराजय ब्यहोर्नुपरेको निष्कर्ष निकालेको छ । कांग्रेस जिल्ला कार्यसमितिले गरेको समीक्षा बैठकले कार्यकर्ताबाट असहयोग हुँदा चुनाव हारेको निष्कर्ष निकालेको हो ।
वुधबार तीनधारेस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले अन्तर्घात गर्नेलाई कारबाही गर्ने चेतावनी दिए । ‘पार्टीमा रहेर पार्टीकै उम्मेदवारको विरुद्धमा काम गरे भनेर पराजित हुने उम्मेदवार र जिल्ला कार्यसमितिका अधिकांश पदाधिकारीहरुले गुनासो गर्नुभएको छ’, उनले भने, ‘हामीले त्यसबारे गम्भीर अध्ययन गरिरहेका छौं ।’
पार्टीको हित विपरीत काम गरेको पाइएमा विधान अनुसार आवश्यक कारवाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । आगामी दिनमा कार्यकर्तादेखि नेतृत्व तहसम्मको कमी कमजोरीलाई सच्याउदै एकतावद्ध भएर अघि बढ्न उनले आग्रह समेत गरेका छन् ।
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाको ११ पालिकामध्ये दुई पालिकाको प्रमुख र पाँच पालिकाको उपप्रमुख कांग्रेसले जितेको हो । बाँकी माओवादी केन्द्रले । यसअघि २०७४ सालको स्थानीय निर्वाचमा कांग्रेसले ९ स्थानीय तहको नेतृत्व जितेको थियो ।
वडाको मतमा अगाडि
सभापति न्यौपानेले पालिका प्रमुख र उपप्रमुख पदमा अपेक्षित स्थानमा विजय हासिल गर्न नसकेपनि वडामा सबैभन्दा लोकप्रिय मत ल्याउन सफल भएको दावी गरे ।
‘वडामा प्राप्त मतपरिणाम हेर्दा कांग्रेसले ४८ हजार २१२ र प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रले ४७ हजार ५४२ मत प्राप्त गरेको देखिन्छ, यसबाट के स्पष्ट हुन्छ भने प्राविधिक रुपमा कांग्रेसले स्थानीय तहका प्रमुख र उपप्रमुख पदमा केही मत कम ल्याएपनि समग्रमा लोकप्रिय मतमा अगाडि छ,’ उनले भने ।
जिल्लाको कुल ४ सय ८७ सिटमध्ये कांग्रेसले २ सय १६ स्थानमा जित हासिल गरेको उनले जानकारी दिए । उनका अनुसार प्रतिस्पर्धी पार्टी माओवादी केन्द्रले २०५, एमालेले ५०, जनता समाजवादी पार्टीले १५ र स्वतन्त्र उम्मेदवारले एक सिट ल्याउन सफल भए ।
यसपटकको निर्वाचनमा कुल ९४ वडामध्ये ३७ वडामा कांग्रेस विजयी बनेको छ ।
प्रतिक्रिया 4