+

महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

२०७९ असार  १ गते १९:०६ २०७९ असार १ गते १९:०६
महिला फुटबल विकासका लागि दीर्घकालीन योजना चाहिन्छ : प्रशिक्षक महर्जन

१ असार, काठमाडौं । कम प्राथमिकतामा परेको नेपाली महिला फुटबल टिममा नयाँ उत्साह दिन आएका छन्, पुरुष टिमका पूर्वप्रशिक्षक बालगोपाल महर्जन ।

अष्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्स राष्ट्रिय टिमको जिम्मेवारीबाट मुक्त भएपश्चात अखिल नेपाल फुटबल संघ एन्फाले पुरुष राष्ट्रिय टिमका सफल प्रशिक्षक महर्जनलाई राष्ट्रिय महिला टोलीको जिम्मेवारी सुम्पेको छ ।

राष्ट्रिय पुरुष टिमलाई लामो समय प्रशिक्षण गरेका उनले पहिलो पटक महिला टिमको स्तर उकास्ने जिम्मेवारी पाएका हुन् । उनको मुख्य लक्ष्य भनेको महिला टिमको स्तरोन्नत्ति हो ।

पहिलोपल्ट एसियाली खेलकुदमा सहभागिता जनाउने तयारीमा रहेको नेपाली टोलीलाई सुखद नतिजा दिलाउनु महर्जनको मुख्य जिम्मेवारी हो ।

आगामी सेप्टेम्बरमा हुने भनिएको एसियाली खेलकुद अनिश्चित समयका लागि सारिएको छ । एसियाली ओलम्पिक कमिटी र आयोजक चीनले प्रतियोगिता सार्ने निर्णय गर्दा नयाँ मिति सार्वजनिक गरेका छैनन् ।

सरकारले एसियाली खेलकुदका लागि तयारी सुरु गर्न लाग्दा राष्ट्रिय महिला फुठबल टिमको जिम्मेवारी महर्जनले पाएका हुन् । उनले सकारात्मक नतिजाका लागि आफूले योजना बनाइरहेको र ठूलो उपलब्धीका लागि दीर्घकालीन योजना आवश्यक पर्ने बताए ।

नेपाली महिला फुटबलको पछिल्ला केही वर्षको नतिजा हेर्ने हो भने खासै प्रगतिउन्मुख देखिँदैन । महिला फुटबलले पाएका अन्तर्राष्ट्रिय एक्सपोजर पनि निकै कम छ । पुरुष फुटबलको तुलना नेपाली महिला फुटबलले हरेक कुरामा कम प्राथमिकता पाइरहेको छ ।

नेपाली महिला फुटबल टिमले पछिल्लो पटक खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता भनेको एएफसी महिला एसिया कप छनोट हो । दक्षिण एसियाली क्षेत्रमा नेपाल लामो समयदेखि एकैस्तरको प्रदर्शनमा सीमित छ । नेपालले अहिलेसम्म निर्णायक खेलमा भारतलाई हराउन सकेको छैन । सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतसँग हारेर नेपाल रजत पदकमा सीमित भएको थियो ।

एसियन कप छनोटको तयारीमा नेपालले बंगलादेशसँग घरेलु मैदानमा दुईवटा मैत्रीपूर्ण खेल खेल्यो । जसमा नेपालले एक खेल बराबरी र अर्को खेलमा २–१ को जित हात पारेको थियो ।

नेपालले गत असोजमा एएफसी एसियन महिला एसियन कप छनोटअन्तर्गत पहिलो खेलमा हङ्कङसँग गोलरहित बराबरी खेलेको थियो । फिलिपिन्ससँग भने नेपाल २–१ गोलले पराजित भयो । त्यसयता अन्तराष्ट्रिय प्रतियोगिता नखेलेको नेपाली महिला फुटबल टिमका लागि आसन्न १९औं एसियाली खेलकुद प्रतियोगिता एक महत्वपूर्ण खुड्किलो हो ।

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको खेल ।

महिला फुटबलको स्तरउन्नतिको लागि नेपालले दीर्घकालिन नीति बनाएर अघि बढ्नु पर्ने प्रशिक्षक महर्जनलाई लागेको छ । प्रशिक्षक नियुक्त भएलगत्तै अनलाइनखबरसँग उनले भने, ‘नेपाली महिला फुटबलको स्तर सुधार गर्ने हो भने हामीले दीर्घकालीन सोच र नीति बनाएर अघि बढ्नुपर्छ ।’

नेपालको हालको स्थिति हेर्ने हो भने दक्षिण एसियाली राष्ट्रमा भारतलाई हराउन नसक्ने र रजतमै सिमित हुने अवस्था छ ।

यस अवस्थाको सुधारका लागि नेपालले हाल मैत्रीपूर्ण खेलहरु आयोजना गर्नुपर्ने उनले बताए । महिला फुटबलको स्तर उन्नतीमा पहिलो कदम भनेको नेपालले दक्षिण एसियाका राष्ट्रहरुमा विजयी हुन सक्नुपर्ने उनले बताए ।

‘एसियाली फुटबलमा हामी अगाडी आउने हो भने पहिला हामी दक्षिण एसियामा स्वर्ण जित्ने हुनुपर्छ,’ उनले थपे, ‘नेपालको महिला टिमको स्तर र नजिता हेर्ने हो भने हामी जहिल्यै पनि भारत पछि मात्र हामी पाउँछौं । अहिले बंगलादेशको पनि निकै राम्रो प्रगती भएको छ ।’

महिला फुटबलको लागि नेपालले गर्ने लगानी नै पहिलो हो । महिला टिमले नपाएको प्राथमिकता नै कमजोरीको मुख्य कारण हो । एक्सपोजरको कमी, पुरुष टिमको भन्दा कम प्रतियोगिता र लगानी नै हो । महिला टिमको उत्थानको लागि सम्बन्धित संस्थाले महिला टिमलाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्ने प्रशिक्षक महर्जनले बताए । नेपाली महिला फुटबलको विकासका लागि बर्षैभरिको प्रशिक्षण र लगानी नै मुख्य रहेको उनले बताए । ‘मुख्य भनेको प्रशिक्षण र लगानी नै त हो । हामीले पनि यस कुरामा जोड दियौं भने हाम्रो रिजल्ट र वरियतामा सुधार गर्न सकिन्छ’, उनले भने ।

नेपाली महिला फुटबलका लागि मैत्रीपूर्ण खेलको आयोजना, अन्तर्राष्ट्रिय एक्सजोजर दिने हो भने महिला टिमले पनि राम्रो नतिजा दिन सक्ने उनले बताए । महिला फुटबलको स्तर उकास्न राष्ट्रिय खेलकुद परिषद(राखेप), एन्फा तथा सम्बन्धित पक्ष पनि उत्तिकै साथ र सहयोगको अपेक्षा गरेको महर्जनले बताए ।

उनले महिला फुटबलको राम्रो नजिताका लागि र आसन्न एसियाली खेलकुदकका लागि मैत्रीपूर्ण फुटबलको योजना बनाएको बताए ।

नेपाली महिला फुटबल बालगोपाल महर्जन महिला फुटबल
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय