
१ असार, वीरगञ्ज । कार्यालयमा परेका विभिन्न उजुरीको छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक टोली पर्सा आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट ईन्जिनियर सहितको टोली आएको हो ।
जिल्लाबाट परेका विभिन्न उजुरीको सम्बन्धमा छानबिन गर्न प्राविधिक टोली पर्सामा पुगेको आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।
‘पर्सा जिल्लाबाट विभिन्न स–साना उजुरी पनि आएका छन् । कतिपय उजुरीका सम्बन्धमा प्राविधिक परीक्षण पनि गर्नुपर्ने हुन्छ’, उनले भने, ‘नियमित प्रशासनिक काम गर्न प्राविधिक टोली पर्सा गएको छ । जिल्लाभरीबाट परेका विभिन्न उजुरीको प्राविधिक मुल्यांकन गरेर प्रतिवेदन तयार गर्छ ।’
प्राविधिक टोलीले एक सातासम्म पर्सा जिल्लामा बसेर स–साना उजुरीको प्राविधिक जाँच गर्ने उनले जानकारी दिए ।
प्राविधिक टोलीले पहिलो दिन कालिकामाई गाउँपालिकामा पुगेर हरिहपुरमा मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा बनेको पुलको प्राविधिक जाँच गरेको छ ।
पुल स्टिमेट अनुसार नबनेको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारको प्राविधिक टोलीले मापदण्ड अनुसार पुल निर्माण भए/नभएको अध्ययन गरेको थियो ।
प्रतिक्रिया 4