
२ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले स्वास्थ्य सहायक (एचए) र स्टाफ नर्स पढाउने भएको छ । आगामी आर्थिक वर्षदेखि प्रदेश अस्पताल कालागाउँ मातहत एचए र स्टाफ नर्स पढाइने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बिन्दमान विष्टले जानकारी दिए ।
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने नीति लिएको सरकारले तत्काल एचए र स्टाफ नर्स पढाउन सुरु गर्ने बताएको हो ।
प्रदेशमा ठूलो मात्रामा स्वास्थ्य जनशक्ति अभाव भएपनि र यी दुईवटै कार्यक्रम पढाइ हुने कलेज नहुँदा सरकारले नै एचए र स्टार्फ नर्स पढाउने तयारी गरेको मन्त्री विष्टले बताए ।
‘प्रदेशमा ठूलो मात्रामा स्वास्थ्य जनशक्ति अभाव छ, तर विडम्बना यी दुईवटै कार्यक्रम पढाइ हुने कलेज छैन’ बिहीबार बजेटबारे जानकारी दिन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले भने, ‘एकातिर स्वास्थ्य जनशक्ति परिपूर्ति हुन्छ, अर्कोतिर विद्यार्थीले सस्तोमा यी कार्यक्रम पढ्न पाउँछन् ।’
सरकारले एचए र स्टार्फ नर्स पढाउन एक सय बेडको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि भएका निजी कलेज पनि बन्द भएका छन् । जसले गर्दा एचए र स्टार्फ नर्स पढ्न प्रदेश बाहिर जानुपर्ने बाध्यता छ ।
प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न भन्दै प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७९–०८० को बजेटमा ५१ करोड ४५ लाख बजेटसमेत विनियोजन गरेको छ ।
प्रतिक्रिया 4