
२ असार, काठमाडौं । बलात्कार मुद्दा कमजोर बनाउन दबाव दिएको आरोप खेपेका महान्यायाधिवक्ता खम्मबहादुर खातीले उक्त मुद्दाको अभियोजन गरेकी सरकारी वकिललाई सरुवा गरेका छन् । ललितपुरको इमाडोलमा भएको बलात्कार मुद्दा कमजोर बनाउन इन्कार गरेकी सरकारी वकिल (सहायक न्यायाधिवक्ता) संगिता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले सरुवा गरेको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयमा कार्यरत सहायक न्यायाधिवक्ता ठोकरलाई महान्यायाधिवक्ता कार्यालयले मुख्य न्यायाधिवक्ताको कार्यालय, हेटौंडामा सरुवा गरेको हो । ‘मेरा सहकर्मी र मलाई मुद्दा कमजोर बनाउन र कमजोर दफा प्रयोग गर्न निरन्तर दवाव आएको थियो,’ सहायक न्यायाधिवक्ता ठोकरले अनलाइनखबरसँग भनिन्, ‘मैले त्यो कुरा स्वीकार्ने कुरै भएन । जे यथार्थ हो, त्यो काम गरेँ । अहिले सरुवा भएको छ ।’
उनीमाथि सरकारी वकिल कार्यालयको सूचना चुहाएको भनी महान्यायाधिवक्ता कार्यालयका केही अधिकारीहरुले अप्रत्यक्ष दबाव दिएका थिए । ललितपुर इमाडोलको ग्रिनहिल सिटीमा बस्ने सुशील चटौतले आफ्नै घरमा राखेकी १३ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार र बलात्कार गरेको आरोप लागेको हो । बालिका तनावमा रहेको र असामान्य व्यवहार देखाएको थाह पाएपछि बालबालिकाको क्षेत्रमा काम गर्ने एक संस्थाले उनको उद्दार गरेको थियो ।
त्यसपछि सोधपुछका क्रममा उनका संरक्षक समेत रहेका चटौतले बलात्कार गरेको खुलेको हो । त्यसपछि चटौतविरुद्ध जाहेरी दर्तादेखि मुद्दा दायर गर्ने बेलासम्म दबाव दिएको महान्यायाधीवक्ता कार्यालयले मुद्दामा अडान लिएको आरोपमा ठोकरलाई सरुवा गरेको हो ।
प्रतिक्रिया 4