
३ असार, वीरगञ्ज । प्रहरीले कलैया–९ का ७२ वर्षीय वृद्ध फुल महमद मियाँ धुनियाको हत्या अभियोगमा एक युवकलाई पक्राउ गरेको छ ।
स्थानीय ३१ वर्षीय बजरंगी साह तुरहा पक्राउ परेका हुन् । मृतक फुलमहम्मद धुनियाको मोबाइल सेट सहित पक्राउ परेका उनीविरुद्ध बारा जिल्ला अदालतमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
फुल महमद आँप बगैचा स्थित फुसको छाप्रोमा बस्दै आएका थिए । जेठ २७ गते दिउँसो ३ बजे घरमै उनको शव फेला परेको थियो ।
शव देख्ने वित्तिकै प्रहरीले कर्तव्य गरी मारेको आशंकामा अनुसन्धान अघि बढायो । किनकी उनको शव भेटिएको घरको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो । भने शरीरका विभिन्न भागमा काटेको घाउ चोट देखिएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा जेठ २६ गते राति साढे ८ बजे बजरंगी साह तुरहाले कर्तव्य गरी मारेको तथ्य खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
‘पैसा माग्दा नदिएपछि पीकले हानेर फुल महमदको हत्या गरेको तथ्य खुल्न आएको छ ।’ उनले भने ‘ अभियुक्तलाई काठमाण्डौंबाट पक्राउ गरेर ल्याएका छौं । अदालतबाट ५ दिनको म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
प्रतिक्रिया 4