
५ असार, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताएका छन् । समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उनले बताए ।
आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो ।
आजको बैठकमा सभापति खरेलले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भएको बताएकी थिइन् । तर कांग्रेसका सचेक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले यसलाई अपमान गरेको भनेर भन्न नमिल्ने तर्क गरेका थिए ।
एमाले सांसद रावलले भने, ‘यहाँ सांसदहरुले अपमान नभनौं भन्नुभो, म त भन्छु यो खेदजनक छ । खेदप्रस्ताव पारित गरौं ।’
उनले अगाडि भने, ‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो । यही हो त लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समिक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’
आफूहरुले एसपीपीबारे प्रधानमन्त्रीकै जवाफ माग गरिरहेको भन्दै जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताए । प्रधानमन्त्री अनुपस्थित हुँदा आशंका उब्जिनु स्वाभाविक भएको उनले बताए ।
उनले एसपीपीमा संलग्न हुँदैनौं भनेर अमेरिकालाई पत्र किन नलेखेको भनेर पनि रावलले प्रश्न गरे । ‘समितिमा पनि नआउने, पत्र पनि नलेख्ने आशंका जन्मिंदैन त ?’ रावलले भने, ‘आज प्रधानमन्त्रीलाई तत्काल अमेरिकालाई एसपीपीमा रहन्नौं भनेर पत्र लेख्न निर्देशन जारी गरौं ।’
प्रतिक्रिया 4