
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएसन अफ नेपालले आगामी ७ भदौदेखि १२ भदौसम्म ‘नाडा अटो शो–२०२२’ आयोजना गर्दैछ । जसका लागि कम्पनीले गतहप्ता स्टल बुकिङ खुल्ला गरेको थियो । चार दिनका लागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण सम्भावित सहभागी कम्पनीहरुको दर्ता भइसकेको कम्पनीले जनाएको छ ।
२ असारमा गरिएको गोला प्रथा अन्तर्गत सबै कम्पनीहरुको प्रतिनिधि, प्रदर्शनी व्यवस्थापन कम्पनी ग्लेबल एक्स्पोजिसनका प्रतिनिधि, नाडा कार्य समिति पदाधिकारी सदस्य एवं नाडा अटो शो कमिटीका सदस्यहरुको उपस्थितिमा सहभागी कम्पनीहरुलाई स्टलको छनोट एवं बाँडफाँड गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यस वर्ष कमर्सियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उदेश्यले छुट्टै दुई पाँग्रे इलेक्ट्रिक पेभिलियन समेत राखिएको छ ।
कोभिड–१९ महामारीका कारण दुई वर्ष पछि यो प्रदर्शनी आयोजना हुन लागेको कम्पनीले जनाएको छ । यो प्रदर्शनीले सुस्ताइ रहेको अटो व्यवसाय चलायमान हुने विश्वास आयोजकको छ ।
नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणका लागि समेत नाडा अटो शो अपरिहार्य रहेको बताए ।
अटोमोबाइल क्षेत्रमा भइरहेका नवप्रवर्तन, आविष्कार, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ, म्यानुफ््याक्चरिङ कम्पनीहरुका विज्ञ एवं जानकारहरुसँगको छलफल तथा अन्तक्रिया समेटिएको संगोष्ठी यस वर्षको विशेष आकर्षण हुने पनि उनको भनाइ छ ।
प्रतिक्रिया 4