
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आइतबार दिउँसो कमलपोखरीस्थित बिग मुभिज पुगेर फिल्म ‘चिसो मान्छे’ हेरेका छन् । उनीसहितका अतिथिका लागि फिल्मको विशेष शो आयोजना गरिएको थियो ।
फिल्म हेर्न नेकपा एमालेका सचिव योगेश भट्टराई पनि हलमा पुगेका थिए । फिल्मका मुख्य कलाकार अर्पण थापालगायत पनि हलमा पुगेका छन् । अभिनेत्री स्वस्तिमा खड्का चाहिं बिरामी भएकाले आउन नसकेको जनाइएको छ ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले पनि केही दिनमा फिल्म हेर्ने जानकारी दिएको निर्देशक दीपेन्द्र के खनालले बताए । भीआईपी शोमा प्रधानमन्त्री पत्नी आरजु राणा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पनि निम्तो दिइएको भए पनि कार्यव्यस्तताले आउन नसकेको खनालले जनाए । ‘चिसो मान्छे’ हेर्न प्रहरी अधिकारीहरु पनि हलमा पुगेका छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आएको ‘चिसो मान्छे’ले दर्शक र समीक्षकबाट राम्रो समीक्षा प्राप्त गरिरहेको छ । कोरोना महामारीको समयमा कतारबाट ल्याइएको शवलाई काठमाडौंदेखि बाजुरासम्म लैजान गरिएको संघर्षलाई फिल्मले चित्रण गर्छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4