
काठमाडौं । गत पुस १ गतेदेखि आगामी मंसिर १४ गतेसम्म हलमा रिलिज हुने नेपाली फिल्मले मात्र यस वर्षको ओस्कार अवार्डमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् ।
ओस्कार आयोजक द एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले यसैसाता नेपालको सिफारिस कमिटीलाई पत्र लेख्दै उक्त समयभित्र हलमा प्रदर्शन भएका फिल्ममध्येबाट कुनै एकलाई पठाउन सिफारिस गरेको हो ।
कमिटीले ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट कुनै एक फिल्मलाई सिफारिस गर्छ । मंसिर तेस्रो साता मात्र कमिटीले फिल्मको आवेदन गर्ने जनाइएको छ ।
ओस्कारमा भाग लिने फिल्मले एकसाता अनिवार्य हलमा प्रदर्शन भएकै हुनुपर्नेछ । कोरोना महामारीको समयमा ओटीटी प्लेटफर्ममा रिलिज भएका फिल्मलाई मौका दिइए पनि यसपटक चाहिं त्यो सुविधा हटाइएको छ ।
कमिटी सदस्य सामीप्यराज तिमल्सिनाले अनलाइनखबरसँग भने, ‘यसपटक धेरै फिल्म सहभागी हुने हाम्रो आशा छ । नोभेम्बर मध्यतिर आवेदन आह्वान गरेर सिफारिस प्रक्रिया अघि बढाउँछौं ।’
ओस्कार अवार्डको आगामी संस्करण सन् २०२३ मार्च १२ मा अमेरिकाको लस एन्जल्समा हुँदैछ ।
प्रतिक्रिया 4