
५ असार, वीरगञ्ज । हिजोआज तराई मधेसमा अत्यधिक गर्मी छ । यही बेला विद्युत अनियमित गर्मी छल्न पंखा चलाउने सर्वसाधारणदेखि उद्योग चलाउने उद्योगीसमेत मर्कामा परेका छन् ।
पर्सा बारा क्षेत्रमा यो समस्या लामो समयदेखि चलिरहेको छ । अति नै भएको भन्दै वीरगञ्ज वासिन्दाले आन्दोलन सुरु गरेका छन् । यसअघि जेठ ३० गते विद्युत प्राधिकरणको वीरगञ्ज वितरण केन्द्र अगाडि प्रदर्शन गरेका युवाको समूहले आइतबार पनि प्रदर्शन गरेको थिए ।
आइतबार भएको प्रदर्शनका सहभागीले कुलमान घिसिङ खबरदार, विद्युत कटौती बन्द गर, जनतालाई दुःख दिन पाइदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
आन्दोलनको अगुवाइ गरिरहेका लोकतान्त्रिक समाजवादी पार्टीका नेता ओमप्रकाश सरार्फले प्राधिकरणको लापरवाहीले सर्वसाधारण जनताले दिनहँु सास्ती खेप्न बाध्य भएको बताए ।
‘छिन छिनमा बिजुली जाने, बिना सूचना लोडसेडिङ गर्ने, भोल्टेज कमवेशी आउने गरेको छ । यो विद्युत प्राधिकरणको लापरबाहीको परिणाम हो’, उनले भने, ‘पहिले पनि प्रदर्शन गरेका हौं, आश्वासन दिए अनुसार सुधार भएन, रातभरिमा पटक पटक लाइन काटिन्छ । त्यसैले पुनः प्रदर्शनमा उत्रिएका हौं ।’
पटक पटक विद्युत आउने जाने र भोल्टेज तलमाथि हुँदा पंखा, टिभी, फ्रिज लगायत घरायसी विद्युतीय समान जल्ने समस्या देखिएको पनि सर्राफले बताए ।
‘नेपालले बिजुली भारतलाई बेचिरहेको छ भन्ने सुनिन्छ, बिजुली बेचेर आम्दानी लिनु राम्रो हो तर यहाँ आफ्नो जनता बिजुलीका लागि त्राहिमाम छ । जनताको आवश्यकता पहिले पूरा हुनुपर्छ’ उनले भने ।
प्राधिकरणको वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले स्थानीय स्तरबाट समाधान हुन सक्ने समस्या आफैं समाधान गर्ने र पूरा गर्न नसकिने समस्या समाधानका लागि माथिल्लो निकायमा पहल गर्ने आश्वासन दिए पनि पूरा नभएको प्रदर्शनकारीको भनाइ छ ।
उद्योगी व्यवसायीले मन्त्री र कुलमान गुहारे
अनियमित विद्युत कटौतीको मारमा सर्वसाधारण मात्रै होइन, पर्सा–बारा औद्योगिक करिडोरका उद्योगी व्यवसायी पनि छन् । अचानक विद्युत कटौती हुँदा स्टिल उद्योगमा तातेको भट्टी सेलाउने, कतिपय उद्योगमा कच्चा पदार्थ नै मेसिनमा अड्किएर खेर जाने गरेको उद्योगी व्यवसायी बताउँछन् ।
उद्योगी व्यवसायीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्राचार गरेर समस्याबारे जानकारी गराएका छन् ।
बारा–पर्सा आद्योगिक कोरिडोरमा २०० ठूला र दुई हजारको हाराहारीमा मझौला तथा साना प्रकृतिका उद्योगहरु सञ्चालनमा रहेको अनुमान छ । उद्योगहरुको संचालनको लागि गुणस्तरीय विद्युतको नियमित आपूर्ति हुनुपर्ने उनीहरुको माग छ ।
तर पछिल्लो दुई महिनादेखि विद्युत गुणस्तरीय विद्युत आपूर्ति हुन सकेको छैन । दैनिक ८÷१० पटकसम्म ट्रिपिङ हुने र ४÷५ पटकसम्म लामो समय विद्युत आपूर्ति बन्द हुने समस्या देखिएको उद्योगी व्यवसायी बताउँछन् । विद्युतमा देखिएको समस्या समाधान गर्न प्राधिकरण गम्भीर नभएको उनीहरुले आरोप लगाएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल २४ घण्टा बिजुली आपूर्तिमा समस्या छ भने सिफ्ट मिलाएर तालिका सार्वजनिक गर्न सुझाव दिन्छन् ।
‘उद्योगमा ४ सय ४० केभीएको ट्रान्सफरमर हुन्छ । लाइन कटेर फेरि आउँदा हाई भोल्टेज आइदिन्छ । त्यसले उद्योगको मेशिनमा क्षति पुर्याउँछ’, उनले भने ‘प्राधिकरणले उद्योग धन्दाका लागि २४ सै घण्टा विद्युत उपलब्ध गराउन सक्दैन भने तालिका बनाएर विद्युत दिनुपर्छ ।’
प्रतिक्रिया 4