+

एन्फा चुनाव : कर्मा भर्सेस पंकज

२०७९ असार  ६ गते ८:११ २०७९ असार ६ गते ८:११
एन्फा चुनाव : कर्मा भर्सेस पंकज

६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदैछ ।

कुनै बेला चेन्ज एन्फाको नारा उठाएका र अघिल्लो कार्यकाल एउटै टिममा रहेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् । कर्माछिरिङ वर्तमान अध्यक्ष हुन् भने पंकज विक्रम वरिष्ठ उपाध्यक्ष ।

दुवैले २१-२१ जनाको टिम बनाएका छन् । राजिवराज पौड्याल पनि अध्यक्षको उम्मेदवार बनेका छन् । तर उनको प्यानल छैन । त्यसैले अध्यक्षमा कर्माछिरिङ शेर्पा र पंकज विक्रमबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दुवैले नेपाली फुटबल विकासका लागि आफू नेतृत्व आउनुपर्ने दाबी गरेका छन् ।

चार वर्षको समीक्षा गर्दा कर्माछिरिङले आफ्नै टिमका साथीहरुले अवरोध गरेको दाबी गरेका छन् भने पंकजले भने नेतृत्वले सबैलाई समेटेर काम गर्न नसकेको आरोप लगाएका छन् । पंकजले नेतृत्वले आर्थिक अनियमिततालगायत विभिन्न काम गरेको बताउँदा कर्माले भने सबै भागिदार रहेको बताए ।

प्यानलमा को-को छन् ?

कर्मा प्यानल : कर्मा छिरिङ शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली तथा चार उपाध्यक्षमा विज्ञानराज शर्मा, उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठ उम्मेदवार छन् ।

सदस्यमा फ्रेण्ड्स क्लबका अध्यक्ष दीपक थापा, सिराहका प्रविण कुमार यादव, साँगा क्लबका रुपेश अधिकारी, लमजुङका लोकेन्द्र गुरुङ, बाग्लुङका पूर्वअध्यक्ष राम राजा गुरुङ, मकवानपुरका अध्यक्ष टिकाराम लामा, बाँकेका प्रदेश सिंह राठौर, जुम्लाका भरत बुढ् थापा, मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ, च्यासल क्लबका अध्यक्ष रमेश व्यन्जनकार, खुमलटार युथ क्लबका अध्यक्ष मणिराज विष्ट, टोखा क्लबका मनिष जोशी, विनोद लामा तामाङ छन् । यस्तै दुई महिला सदस्यका लागि पेमा डोल्मा शेर्पा र बिना श्रेष्ठ उम्मेदवार छन् ।

पंकज प्यानल : पंकजको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष वीरबहादुर खड्का तथा चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, वर्तमान केन्द्रीय सदस्य दावा लामा, एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशी र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडा छन् ।

सदस्यहरूमा भोजपुर जिल्ला संघका प्रविण सुवाल, ललितपुर जिल्ला अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष एवंम् एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वरकुमार राउत कुर्मी, काभ्रे जिल्ला अध्यक्ष विकास नारायण श्रेष्ठ, इलाम जिल्ला फुटबल संघका अध्यक्ष निरोज खड्की, मोरङ जिल्ला फुटबलका अध्यक्ष दीपेन्द्र धिमाल, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, कैलाली जिल्लाका अनिल मल्ल, सुर्खेत जिल्लाका रवीन्द्र चन्द र मुखिया लामा लिली उम्मेदवार छन् । पंकज प्याजलबाट महिला सदस्यामा सरिला श्रेष्ठ र वृन्दा देवानले उम्मेदवारी दिएका छन् ।

कोसँग त मताधिकार ? कति चाहिन्छ मत ?

फुटबल खेलमा ९० मिनेटको खेल हुन्छ भने जस्तै चुनावी मैदानमा ८४ जनाको मतको खेल हुँदैछ ।

एन्फा निर्वाचनमा मताधिकार ८७ भए पनि यस पटक ८४ मताधिकार मात्रै रहने छ । सिन्धुपाल्चोक, भक्तपुर र सिराहा जिल्लाले यसपटक मताधिकार प्रयोग गर्न पाउने छैन ।
प्यानलगतरुपमा हेर्ने हो भने कर्माछिरिङ समूहका २१ उम्मेदवारमध्ये ९ जनासँग मताधिकार छ ।

सदस्यमा उम्मेदवार दिएका लोकेन्द्र गुरुङ, दिपक थापा, टिका लामा, भरत बुढ थापा, अनिल श्रेष्ठ, रमेश व्यनन्जनकार, मणिराज विष्ट, मनिष जोशी र विनोद गुरुङसँग मताधिकार छ । महिला संघबाट विना श्रेष्ठ प्रतिनिधिका रुपमा छन् ।

अध्यक्षमा उम्मेर्दवारी दिएका कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली, उपाध्यक्ष उपेन्दर मान सिंह, दीर्घबहादुर केसी र रत्न कुमार श्रेष्ठको क्लब/जिल्लाको मत सुरक्षित छ । यसरी हेर्दा यो समूहसँग १७ मत सुरक्षित देखिन्छ ।

यो समूहका नेताहरूले भने ४५ भन्दाबढी मत आफूहरुसँग रहेको दाबी गर्दै आएको छ ।

पंकज प्यानलमा अधिकांश उम्मेदवारसँग मताधिकार छ । उपाध्यक्षका चार दाबेदार विराज जंग शाही, दावा लामा, दिपक खतिवडा र सुन्दरनरसिंह जोशीसँग मताधिकार छ । सदस्यमा उम्मेदवारी दिएका प्रविण सुवाल, पुरुषोत्तम थापा, महेन्द्र क्षेत्री, नेपाल कार्की, विकाश नारायण श्रेष्ठ, भोजराज शाही, रविन्द्र चन्द र अनिल मल्लसँग पनि मताधिकार छ ।

सदस्यमा उम्मेदवार दिएका तपेश्वर राउत कुर्मी र मुखिया लामा प्रतिनिधिका रुपमा छन् ।

अध्यक्षका दाबेदार पंकज र वरिष्ठ उपाध्यक्षका दाबेदार वीरबहादुरसँग मताधिकार छैन । तर पंकजलाई झापाबाट समर्थन छ भने वीरबहादुरलाई सिन्धुपाल्चोकबाट समर्थन रहेको दाबी छ । पंकज समूहका नेताहरूले आधाभन्दा बढी मताधिकार आफ्नो पक्षमा रहेकाले जित्ने दाबी गर्दै आएका छन् । तर दुवै प्यानलमा सुरक्षित मत बाहेक करिब ४८/४९ मत निर्वाचनमा निर्णायक बन्ने देखिन्छ ।

एन्फा कर्मा छिरिङ शेर्पा पंकजविक्रम नेम्वाङ
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय