
६ असार, काठमाडौं । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले पेट्रोल पम्पमा इन्धन स्टक राखेर मूल्यवृद्धि गरिँदा ठूलो आर्थिक लाभ हासिल भएको हो भनेर सरकारसँग प्रश्न गरिन् । यसरी इन्धनको मूल्य वृद्धि भइरहँदा नागरिकको ढाड सेकिएको उनको भनाइ थियो ।
प्रतिनिधि सभामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे प्रमुख विपक्षी नेकपा एमालेले जवाफ मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले जवाफ दिन सरकारलाई रुलिङ समेत गरे ।
सोमबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा पनि बढाउनुपर्ने बाध्यता रहेको स्पष्टीकरण दिए ।
नेपाल आयल निगमले सोमबार मूल्यवृद्धिको कारणबारे प्रष्ट्याउन आयोजना गरेको आकस्मिक पत्रकार सम्मेलनमा पनि मृल्यवृद्धिबारे प्रश्न उठ्यो । पत्रकार सम्मेलनमा निगममाथि उच्च मूल्यमा पेट्रोलियम पदार्थको भाउ बढाउँदा आइतबार इन्धन किनेका पेट्रोल पम्पलाई ठूलो लाभ हुने वातावरण सिर्जना गरिएको आरोप लाग्यो । फ्लोरबाट निगमका अधिकारीलाई ‘एक दिनमा लाखौं लिटर पेट्रोलियम बिक्री गरेर ह्वात्तै मूल्य बढाएपछि व्यवसायीलाई ठूलो लाभ सुनिश्चित गरिदिएको हो ?’ भन्ने प्रश्न आयो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको हलमा आयोजित पत्रकार सम्मेलनमा निगमले भने अन्तर्राष्ट्रिय कारणले मात्रै मूल्यवृद्धि गर्नु परेको पटक–पटक दोहोर्यायो ।
रुस–युक्रेन युद्धका कारण बिग्रिएको विश्व आपूर्ति श्रृङ्खलाको असर नेपालमा परेको मन्त्रालय सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष गणेशप्रसाद पाण्डेले दाबी गरे । आइतबारको मूल्यवृद्धि पछि पनि निगमलाई अझै ५ अर्ब रुपैयाँ हाराहारी घाटामा रहेको दाबी निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले दावी गरे ।
अन्तर्राष्ट्रिय बजार मूल्यका कारण १५ दिनमा पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ५८ पैसा, डिजेलमा १३ रुपैयाँ ९५ पैसा र ग्याँसमा प्रतिसिलिन्डरमा ७५४ रुपैयाँ घाटा रहेको तथ्यांक उनले सार्वजनिक गरे । ‘बढेको मूल्यपछि पनि निगमलाई अझै १५ दिनमा २ अर्ब ३५ करोड रुपैयाँ घाटा छ,’ कार्यकारी प्रमुख थानीले भने, ‘यो मूल्य पूर्वाधार कर हटाए पछिको हो ।’
मूल्यवृद्धि बाध्यता भएको भन्दै थानीले अहिले आफूहरु आपूर्तिलाई नियमित बनाउन निकै मेहनत गरिरहेको बताए । भरतीय आयल कर्पोरेसन (आईओसी) लाई भुक्तानी पुर्याउन पनि मूल्य बढाउनुको विकल्प नभएको उनको दाबी थियो ।
आयल निगमको विगतको तथ्यांकअनुसार सार्वजनिक विदाको भोलिपल्ट आइतबार औसत ३ हजार ४ सय १४ किलोलिटर पेट्रोल र ७ हजार ७४७ किलोलिटर डिजेल बिक्री हुन्छ । यो हिसाबअनुसार दैनिक ३४ लाख १४ हजार लिटर पेट्रोल निगमले बिक्री गर्छ । जसमा आइतबार राति बढेको मूल्यले देशभरका १४ सय पम्पहरुलाई पेट्रोलमा मात्रै ७ करोड १६ लाख रुपैयाँ प्रत्यक्ष लाभ हुन्छ । यस्तै ७७ लाख ४७ हजार लिटर डिजेल खरिद गरेका पम्पहरुलाई एकै दिन लिटरमा २७ रुपैयाँले मूल्य बढाइदिए पछि २० करोड ९१ लाख रुपैयाँ लाभ मिल्ने चर्चा बजारमा छ ।
आइतबार मूल्य बढाउनु स्वयं निगम र उपभोक्ता हितमा नहुनेबारे निगम सञ्चालक समितिमै विवाद रहँदा यसबारे निगमलाई प्रश्न उठ्नु स्वभाविक नै थियो ।
पत्रकार सम्मेलनमा अन्तिममा घुमाई फिराई बोलेका आपूर्ति सचिव पाण्डेयले आइतबारको पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैंलाई असहज लागेको बताए ।
‘हिजोको मूल्यवृद्धिले मलाई पनि असहज लागेको छ,’ पाण्डेयले भने, ‘तर जनताले धैर्यता र साहस देखाइदिनु भयो कुरा बुझ्नु भयो ।’ उनले पत्रकार सम्मेलन टुंगिने अन्तिममा आफ्नो बिट मार्दै भने, ‘निगमको मूल्यवृद्धिले कसैलाई पनि अतिरिक्त लाभ मिल्ने गरी निर्णय गरेका छैनौं ।’
प्रतिक्रिया 4