
६ असार, काठमाडौं । विवादका बीच सुरु भएको नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको बैठक विवादको निरुपण नगरी सकिएको छ ।
अखिल क्रान्तिकारीले केन्द्रीय समितिमा करिब एक सय सदस्य मनोनित गरेको छ भने संगठन सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ । सँगै असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई संगठनबाट निलम्बनको निर्णय समेत बैठकले गरेको छ ।
गत असोजमा राष्ट्रिय सम्मेलन भएदेखि नै विवादमा अल्झिएको अखिल क्रान्तिकारीको यस पटकको केन्द्रीय समितिको बैठकबाट समाधान निस्कने अपेक्षा गरिएको थियो ।
विवाद यथावत
उपाध्यक्ष कार्कीसहित ९ जना केन्द्रीय सदस्यलाई संगठनबाट निलम्बन गरेपछि विवाद सधान हुनुको साटो झन् लम्बिएको छ ।
निलम्बनमा परेका कार्कीले भने आफूमाथिको कारवाहीलाई अवैधानिक भनेका छन् । ‘उहाँहरुको कमिटी नै अवैधानिक छ’, उनले अनलाइनखबरसँग भने, ‘अवैधानिक कमिटीले कारवाही गर्ने कुराले कुन वैधानिकता प्राप्त गर्छ ?’
कार्की नेतृत्व असन्तुष्ट पक्षले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समक्ष ध्यानाकर्षण बुझाएको छ । इन्चार्ज हितमान शाक्य र अध्यक्ष पञ्चा सिंहलाई बर्खास्त गर्नुपर्ने र तत्काल विशेष महाधिवेशनको आयोजना गर्नुपर्ने मागसहित प्रचण्डलाई ध्यानाकर्षण गराएको कार्कीले जानकारी दिए । ‘पार्टीले तत्काल बोलाएर छलफल गर्छ भनेर अध्यक्ष प्रचण्डले भन्नुभएको छ । हामीले छिटो भन्दा छिटो गर्न भनेका छौं’, उनले भने ।
पार्टीले आफूहरुको माग सुनुवाइ नगरे समानान्तर केन्द्रीय समिति बनाउने चेतावनी कार्की छ । ‘पार्टीलाई अल्टिमेटमका रुपमा समस्या सम्बोधनका लागि एउटा समय दिन्छौं,’ कार्कीले भने, ‘भएन भने विधानसहितको केन्द्रीय समिति निर्माण गरेर हामी अगाडि बढ्छौं ।’
तर, संस्थापन पक्षले भने कार्कीले अनावश्यक र विधान विपरीत माग राखेर विवाद झिकेको आरोप लगाएको छ । महासचिव दीपेश पुनले कार्कीले आफू पक्षका ९ जना केन्द्रीय सदस्य सबैलाई पदाधिकारी नियुक्त गर्न दबाव दिएको र त्यसलाई मान्न नसकिने बताए ।
‘पहिलेको बिषय सबै मिलिसकेको थियो,’ पुनले अनलाइनखबरसँग भने, ‘उहाँसहित ९ जनालाई पदाधिकारी बनाउनुप¥यो भन्ने उहाँको माग थियो । जबकी उनीहरु जुनियर हो । केन्द्रीय समितिमा मनोनित गरेर ल्याइएको हो । उनीहरु भन्दा सिनियर १ सय जना भन्दा बढी छन् । भन्ने बित्तिकै कसरी पदाधिकारी बनाउन सकिन्छ ?’
आफूहरुले सबैलाई समेट्ने गरी र विधि, पद्धति अनुसार काम गर्ने भन्दै पुनले कार्कीले राखेको माग पूरा गर्न नसकिने बताए ।
अहिले पदाधिकारी बनाइएका ४१ जना यसअधिका अध्यक्ष रञ्जित तामाङको कमिटीमा सहसचिव रहेका मात्रै भएको भन्दै समावेशिता मिलाउन मात्रै एक, दुई जना जुनियरलाई पदाधिकारीमा नियुक्त गरिएको पुनको भनाइ छ।
उनका अनुसार नयाँ पदाधिकारीमा दलितबाट बाबुराम नेपाली र मुस्लिमबाट ताजिम अन्सारी छन् ।
अखिल क्रान्तिकारीको २१ सदस्यीय कार्यालय समितिमा र ४१ सदस्यीय पदाधिकारीम कार्कीको पक्षमा कोही नरहेको पुनले दावी गरे । ‘यो एउटा व्यक्ति र कमिटीको लडाइँजस्तो भयो’ उनले भने ।
विवादको श्रृंखला
अखिल क्रान्तिकारीको गत असोजमा राष्ट्रिय सम्मेलन भएको थियो । राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति निर्माण गर्न सकेको थिएन ।
विधानभन्दा बाहिर गएर केन्द्रीय समिति घोषणा गर्न खोजेको भन्दै कार्की समूहले त्यति बेला पनि हलमै नाराबाजी गरेको थियो ।
त्यसको तीन महिनापछि १ सय ९९ जनाको केन्द्रीय कमिटी घोषणा भएको थियो । त्यो घोषणा विधि, पद्धति र मापदण्ड अनुसार नभएको, आफ्नो नजिक भएकालाई राख्ने, अरुलाई हटाउने गरिएको आरोप कार्की समूहले लगाएको थियो ।
गत ५ वैशाखमा अखिल क्रान्तिकारीले भर्चुअल भेला आयोजना गरिएको थियो । त्यहाँ प्रचण्डले प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षणपछि ४१ जनाको पदाधिकारी घोषणा गरिएको थियो ।
पदाधिकारी घोषणामा पनि कार्की समूहले असन्तुष्टि जनाएको थियो । कार्की महासचिव हुन चाहन्थे तर उनलाई उपाध्यक्ष बनाइएको थियो । त्यसपछि कार्कीले त्यसमा असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण बुझाएका थिए ।
यो बीचमा कार्कीले छुट्टै भेला आयोजना गरेका थिए । अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले उनलाई निलम्बन गरेको थियो । विद्यार्थी संगठनमा विवाद बढेपछि माओवादी केन्द्रले हस्तक्षेप गर्दै भेला पनि रोक्न र कारवाही पनि खारेज गर्न निर्देशन दिएको थियो ।
कार्की त्यतिबेला तत्काल राष्ट्रिय सम्मेलनमा जाने गरी पार्टीले निर्णय गर्ने र अखिल क्रान्तिकारीले बिना मापदण्ड केन्द्रीय समिति र पदाधिकारीमा मनोनित भएकालाई हटाउने तथा छुटेका थप्ने निर्णय भएको दावी गर्छन् ।
यसबीच तीन दिनसम्म चलेको अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले जेठ २९ लाई केन्द्रीय समितिको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर, विवाद मिलाउन कोसिस गर्ने भन्दै त्यसलाई असार ५ मा सारिएको थियो ।
५ गते बैठक समाधानउन्मुख हुनुको उल्टो विवादको केन्द्र जस्तै देखियो । दुई पक्षबीच त्यहाँ हात हालाहाल समेत भएको थियो ।
प्रतिक्रिया 4