
काठमाडौं । विश्व प्रतिष्ठित ओस्कार अवार्ड र युरोपेली एकेडेमीसँगको सहकार्यमा हुने सेफिल्ड डकफेस्टमा भाग लिन पाँच जना नेपाली महिला फिल्म निर्माता बेलायत प्रस्थान गर्ने भएका छन् ।
चलचित्र विकास बोर्डले मंगलबार विज्ञप्ति जारी गर्दै उनीहरु यसै महिना बेलायत जाने जनाएको छ । फिल्ममेकरहरु आश्रुति त्रिपाठी, पिंकी श्रीस राना, प्रशंसा केसी, प्रसुनादेवी डंगोल र स्मृति बस्नेत लण्डन प्रस्थान गर्न लागेका हुन् ।
सेफिल्ड डकफेस्ट बेलायतको अग्रणी डकुमेन्ट्री फिल्म फेस्टिभल हो । संसारकै प्रभावशाली मानिने यो फिल्म बजारमा वृत्तचित्रका विविध प्रकारको गहिराइ पहिल्याउँदै कला प्रवर्द्धन र प्रचारको थलोको रुपमा लिइन्छ ।
बेलायतको तास्कोभ्स्की फिल्मको नेतृत्वमा रहेको ब्रिटिश काउन्सिलको जेन्डर फिल्म कार्यक्रममार्फत ती महिला फिल्म निर्माता र पोखराको पामे फिल्म फेस्टिभल तथा संगीत महोत्सवको सहकार्यमा प्रतिनिधिमण्डल त्यसतर्फ जान लागेको उल्लेख छ ।
‘नेपाली महिला फिल्म निर्मातालाई सहयोग गर्न पाउँदा हामी खुसी छौं,’ तास्कोभ्सकी फिल्मकी सीईओ तथा संस्थापक इरेना तास्कोभ्सकी भन्छिन्, ‘हामीले उनीहरुलाई अन्तर्राष्ट्रिय रुपमा चिनिने स्थानीय कथा विकास गर्न मद्दत गरिरहेका छौं ।’
प्रतिक्रिया 4