
७ असार, काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले हालै भएको आफूहरुमाथिको कारबाही अवैधानिक भएको भन्दै त्यसलाई खारेज गरेको दाबी गरेको छ।
आइतबार सम्पन्न भएको अखिल क्रान्तिकारीको केन्द्रीय समितिको विस्तारित बैठकले असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीसहित ९ जनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।
‘केही साथीलाई कारबाही गरिएको कुरा आएको छ,’ मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर कार्कीले भने, ‘तर, आधिकारिकरुपमा केही आएको छैन । त्यो अवैधानिक हो । त्यसलाई हामीले खारेज गर्छौं भनेका छौं ।’
विस्तारित बैठकमा ५ सय ७५ जना उपस्थित हुनुपर्नेमा त्यो नभएर अल्पमतले निर्णय गरेको कार्कीको दावी छ। ‘विस्तारित बैठक भनेको ५ सय ७५ जना उपस्थित हुनुपर्ने हो,’ उनको भनाइ छ, ‘आफैं अल्पमतमा रहेको बैठक अवैधानिक छ । र, त्यो बैठकले गरेको निर्णय वैधानिक हुँदैन ।’
आफूहरुले यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको, त्यसमा फ्याक्सन इन्चार्ज, अध्यक्षलाई कारबाही हुनुपर्ने र छिटो विशेष राष्ट्रिय महाधिवेशन बोलाउनुपर्ने आफूहरुको माग रहेको कार्कीले जानकारी गराए ।
‘पार्टीले पठाएको फ्याक्सन इन्चार्ज र अध्यक्ष असफल हुनुभयो,’ उनको जिकिर छ, ‘विद्यार्थी आन्दोलनलाई उठाउन सक्नु भएन। खाली विज्ञप्ति मात्रै लेख्ने काम भयो। दुवै जना असफल भएकाले उहाँहरुलाई हटाउनुपर्छ भन्ने हाम्रो माग हो।’
प्रतिक्रिया 4