७ असार, काठमाडौं । धुम्बाराहीका ६३ वर्षीय वीरबहादुर थापा लामो समयदेखि नसा सम्बन्धी रोगबाट ग्रसित थिए । औषधि उपचारका लागि उनले धेरै एलोपेथिक तथा आयुर्वेदिक अस्पताल धाए । तर समस्याको समाधान भने भएन । धेरै ठाउँमा उपचार गराउँदा पनि उनको रोग निको भएन ।
त्यसमाथि अल्सर र पायल्स रोग पनि थपिंदै गए । सास रहुन्जेल आश रहन्छ भनेझैं अस्पतालको औषधिले निको नभएपछि उनले योगको बाटो रोजे ।
सुरुसुरुमा टीभी हेरेर घरमै योग गर्न थाले । पछि विभिन्न योग आश्रममा पुगेरै योग सिक्न थाले । योग अभ्यास सँगसँगै दूध र फलफूल मात्र खाएर एक महिना व्रत समेत बसेपछि उनको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गयो ।
२०५९ सालदेखि योग गर्न थालेका थापाको ढाडको नसा च्यापिएको समस्या शल्यक्रिया नै नगरी निको भयो । नियमित रूपमा योग अभ्यास गर्दै जाँदा अहिले उनको हाडजोर्नी दुख्ने, ग्यास्ट्रिक, पायल्सजस्ता रोग निको हुँदै गए ।
‘औषधि उपचारका लागि धेरै अस्पतालमा पुगें, व्यथा निको भएन, तर योग सिक्न थालेपछि मेरो १० वर्ष आयु बढेको अनुभव गरेको छु,’ उनी भन्छन् । नियमित योगाभ्यासले रोग कम हुँदै गएपछि उनले अस्पतालका औषधि प्रयोग गर्न छाडेका छन् ।
बिहान नियमित योग गरेपछि दिनभर घरको कामको थकान नै मेटिएको योगाभ्यासमा सहभागी ५२ वर्षीय पुष्पा गौतमको अनुभव छ । क्यान्सर रोगबाट थलिएकी उनले क्यान्सर उपचारकै क्रममा योग अभ्यास सुरु गरिन् । किमोथेरापीले थलिएको शरीर त्यसमाथि पनि मोटोपनले उनलाई धेरै सताएको थियो ।
‘योगले मेरो जीवन नै परिवर्तन गरेको छ । योग सिक्न थालेदेखि नै मैले आफूलाई कुनै समस्या नभएको अनुभव गर्न थालें,’ उनले भनिन्, ‘जीवन र मृत्युको अवस्थामा पुगेको मान्छे अहिले बिलकुलै तन्दुरुस्त भएको अनुभव गरेको छु । अस्पताल नगएको नै दुई वर्ष बितेछ ।’
अहिले उनी आफू मात्र योग गर्दिनन् विद्यालयमा साना बालबालिकाहरूलाई पनि सिकाउँछिन् । योगले जीवनमा धेरै परिवर्तन ल्याउन सक्ने उनको अनुभव छ । भन्छिन्, ‘क्यान्सरले थलिएको आफ्नो शरीरलाई योगले तन्दुरुस्त बनाएको छ ।’ क्यान्सर निको भएर लगातार योगाभ्यास गरिरहँदा अन्य कुनै स्वस्थ समस्या अहिलेसम्म नदेखिएको उनी बताउँछिन् ।
योग किन गर्ने ?

अहिले मानिसहरू शारीरिक र मानसिक दुवै कारणबाट पीडित छन् । यस्तो सम्सयाबाट पार पाउने उपाय योग भएको योगगुरु भानुभक्त दाहाल बताउँछन् । ‘योग एक प्राचीन जीवन पद्धति हो, जसमा शरीर, मन र आत्मा एकसाथ आउँछ । सरल भाषामा जीवात्मा र परमात्माको मिलन नै योग हो,’ उनी भन्छन् ।
योग केवल व्यायाम मात्र नभएर आध्यात्मिक अभ्यास पनि हो । मानिसको अस्तित्व शारीरिक, मानसिक र आध्यात्मिक हो, योगले यी तीनलाई सन्तुलनमा राख्न मद्दत गर्दछ । योग कुनै धर्म नभएर जीवन जिउने कला भएको र यसको लक्ष्य स्वस्थ शरीर र स्वस्थ मन रहेको दाहालको भनाइ छ ।
योगबाट शरीर, मन र मस्तिष्कलाई स्वस्थ राख्न सकिन्छ ।
योगका फाइदा
-दैनिक योग गर्नाले शरीरका सबै अंगले राम्रो ढंगले कार्य गर्छन् ।
-उच्च रक्तचाप, हृदयरोग, मधुमेह, श्वासप्रश्वास सम्बन्धी लगायतका रोगबाट मुक्त हुन सकिन्छ ।
-चिन्ता, तनाव, थकाइ, उदासीपन, नकारात्मक विचार हटाई शरीरलाई अलग किसिमको ऊर्जा प्रदान गर्छ ।
-महिलाको महिनावारीलाई नियमित गराउन मद्दत पुर्याउँछ ।
-पाचन क्षमता बढाउन सहयोग गर्छ ।
-मोटोपन घटाउन सहयोग पुर्याउँछ ।
-शरीरको हाडजोर्नी, ढाड, नसा सम्बन्धी रोग भएकालाई पनि योगले फाइदा गर्छ ।
-नियमित योगाभ्यासले मुटु र रगतको नलीलाई सफा राख्छ ।
-योगले रोग प्रतिरोधात्मक क्षमताको विकास गरी शरीरलाई रोगसँग लड्ने शक्ति प्रदान गर्छ ।
-शरीरलाई फूर्तिलो बनाउँछ ।
प्रतिक्रिया 4