
७ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले ट्यांकरमार्फत खानेपानी वितरण कार्य रोकेको छ ।
पेट्रोलियम पदार्थमको मूल्य वृद्धिका कारण केही समयका लागि अस्पतालबाहेक अन्य क्षेत्रमा खानेपानी वितरण रोकेको ट्यांकर शाखाका प्रमुख इन्जिनियर शंकर थापाले जानकारी दिए ।
थापाले अनलाइनखबरसँग भने, ‘अहिले इन्धनको भाउ ह्वात्तै बढ्यो । पहिला विनियोजन गरेको बजेटले थेग्ने अवस्था रहेन । साझालाई जेठ महिनाकै १८ देखि २० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । जसले गर्दा साझाले अहिले इन्धन दिन बन्द गरेको छ ।’
थापाका अनुसार केयूकेएलको ट्यांकर शाखाले सुख्खा याममा दैनिक ८० देखि ९० ट्यांकर र अन्य मौसममा ५० देखि ६० ट्यांकर खानेपानी वितरण गर्दै आइरहेको छ ।
थापाका अनुसार केयूकेएलले खानेपानी ट्याङ्करको लागि आवश्यक पर्ने इन्धन भर्न साझा पेट्रोल पम्पसँग सम्झौता गरेको थियो । तर, बजेट अभावका कारण इन्धनको रकम भुक्तानी गर्न नसकेपछि सेवा नै कटौती गर्नु परेको उनको भनाइ छ ।
मानवीय संवेदनशीलतालाई ध्यानमा राखेर अस्पतालमा भने खानेपानी वितरणलाई नियमित राखेको थापाले बताए ।
केयूकेएलले सरकारी, सार्वजनिक क्षेत्र, निजी क्षेत्र र नागरिकहरुलाई खानेपानी वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4