
७ असार, विराटनगर । सर्वोच्च अदालतले प्रदेश १ कि सांसद गुलेफुन खातुनविरुद्धको सरकारी सहीछाप र दस्तखत कीर्ते मुद्दा दोहोर्याउन अनुमति दिन अस्वीकार गरेको छ ।
उच्च अदालत विराटनगरको फैसलामा चित्त नबुझेपछि प्रदेशसभा सदस्य खातुनले सर्वोच्चमा मुद्दा दोहोर्याउन माग गर्दै निवेदन दिएकी थिइन् ।
निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले जेठ २५ गते दोहोर्याउन अनुमति नहुने आदेश दिएको हो ।
मोहीको जग्गाका लागि कागजात जुटाउने क्रममा उनीमाथि मोरङको तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छाप कीर्ते गरेको आरोप लागेको थियो ।
सरकारी सही छाप कीर्ते मुद्दामा २०७६ वैशाख ३१ गते तत्कालिन जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले एक वर्ष कैद सजाय सुनाएको थियो ।
कीर्ते मुद्दामा सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाबिसका कर्मचारी बिजय कामत र दिपचन्द मण्डललाई जिल्ला अदालतले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।
कीर्ते मुद्दामा दोषी देखिएका तत्कालिन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको थियो ।
जिल्लाको फैसला विरुद्ध प्रदेशसभा सदस्य खातुन २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् । उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते उनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
उच्च अदालत विराटनगरले उनका श्रीमान शेख सिलबरलाई सफाइ दिएको थियो । तीन जनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना हुने फैसला सुनाएको थियो ।
उच्चको फैसलाविरुद्ध उनले २०७६ फागुन ११ गते सर्वोच्चमा निवेदन दिएकी थिइन् । सर्वाेच्चले सुनुवाइका लागि निस्सा नदिएपछि सांसद मियाँले ११ महिना ५ दिन कैद बस्नुपर्नेछ ।
नेकपा एमालेबाट समानुपातिक तर्फको प्रदेशसभा सदस्यमा निर्वाचित खातुनले तीन विघा १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस गरेकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस गरेपछि कीर्ते मुद्दा परेको थियो ।
गाबिसको सिफारिस मोही दाबीका लागि भूमि सुधार कार्यालय पेश भएको थियो । पेस भएको दुई वर्षपछि २०७३ जेठ २२ जाहेरी परेपछि उनी पक्राउ परेकी थिइन् । २५ दिन प्रहरी हिरासतमा बसेकी मियाँ तत्कालिन समयमा १० हजार धरौटीमा छुटेकी थिइन् ।
साबिक कदमाह गाउँ विकास समिति २( हाल कटहरी –९) मा मधुसुधनराज पाण्डेको तीन बिगाह १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो ।
प्रतिक्रिया 4