
७ असार, विराटनगर । विराटनगर विमानस्थल विस्तार गर्ने भन्दै रोक्का गरिएको जग्गाका धनीहरुले आन्दोलन सुरु गरेका छन् ।
विमानस्थल विस्तार र मुआब्जाका लागि संघीय सरकारले बजेट विनियोजन नगरेपछि दुई वर्षयता रोक्का राखिएको जग्गाको बिक्री फुकुवाको माग गर्दै जग्गाधनीहरुले आन्दोलन गरेका हुन् ।
विमानस्थल पीडित संघर्ष समिति संयोजक वेदराज पौडेलका अनुसार मंगलबारदेखि चरणबद्ध आन्दोलन सुरु भएको छ । मंगलबार स्थानीयले विराटनगर विमानस्थलको गेटमा दुई घण्टा धर्ना दिएका थिए । माग पूरा नभएसम्म धर्ना जारी राख्ने पौडेलले बताए ।
विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउनका लागि सरकारले विमानस्थल आसपासको १२६.४६ बिघा जग्गाको कारोबार रोक्का गरेको छ ।
२०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले आसपासका जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति दिएपछि रोक्का रहेको जग्गाको मुआब्जाका लागि सरकारले बजेट विनियोजन गरेको छैन ।
१५ सय मिटर लम्बाइको धावन मार्गलाई ३ हजार मिटर बनाउनका लागि १४ सय कित्ता जग्गा रोक्का गरिएको थियो । तर दुई वर्षसम्म मुआब्जाका लागि सरकारले चासो नदिएका कारण आन्दोलन सुरु गरेको संघर्ष समिति संयोजक पौडेलको भनाइ छ ।
उनका अनुसार विमानस्थल विस्तार गर्दा तीन सय ५० परिवार प्रभावित हुनेछन् । ती परिवारको जग्गा रोक्का राखेपछि समस्या भएको पौडेलले बताए ।
प्रतिक्रिया 4