
७ असार, काठमाडौं । न पहिरो खसेको छ, न मर्मतको काम चल्दैछ, तैपनि नागढुंगा- मुग्लिन सडकखण्डका विभिन्न भागमा गाडीहरु घण्टौं जाममा पर्ने गरेका छन् ।
आइतबार विहान सर्लाहीका विशाल देवकोटा चढेको बस ११ बजे मुग्लिन आइपुगेको थियो, तर, साँझ ७ बज्दा मलेखुसम्म मात्र आइपुग्यो । देवकोटाका अनुसार मलेखुदेखि काठमाडौंतर्फको सडकमा पनि उस्तै समस्या पर्यो ।
अहिले पृथ्वी राजमार्गका विभिन खण्डमा सवारी साधन जाममा पर्नु नौलो हुन छाडेको छ । कारण, हो लेन मिचेर कुद्ने गाडीहरु । ‘चितवनबाट काठमाडौं आउन १२ घण्टा लाग्यो,’ उनी भन्छन्, ‘लेन नमिच्ने ठूला गाडीमा यात्रु गर्नेलाई परिररहेको यस्तो सास्ती किन हेरिंदैन ?’
यो समस्याले यात्रु आक्रान्त भएपछि सडक विभागले यस्ता प्रवृत्ति नियन्त्रण गर्न गृह मन्त्राललयकै ध्यानाकर्षण गराएको छ । सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारी राजमार्गमा लेन अनुशसन मिचेर गाडी चलाउनेहरुका कारण जामको समस्या बढेको बताउँछन् ।
‘पहिरो गएर पन्छाइएका कुनै स्थानमा बोटल नेक हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तो ठाउँमा सवारी पास हुँदा थोरै सवारी लाइन लाग्छन्, यस्तो अवस्थामा साना सवारीहरु लेन मिच्दै अरुको लेनमा खडा भइदिन्छन्, दुबैतर्फ अरुको लेनमा सवारीहरु थुप्रिएपछि त्यो जाम खुल्न महाभारत नै पर्ने रहेछ ।’
इलाका प्रहरी कार्यालय बेनीघाटका प्रहरी सहायक निरीक्षक चन्द्र मोक्तान साना सवारीहरुले लेन अनुशासन नमान्दा ठाउँ-ठाउँमा जाम हुने गरेको बताउँछन् । ‘सडक साँघुरो छ, सवारीको चाप उच्च छ,’ उनी भन्छन्, ‘केही समयमात्रै सवारीहरु कतै रोकिए भने लेन मिच्नेहरुका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन्छ ।’
वर्षायाममा ठाउँ ठाउँमा पहिरो गइरहने कारण पनि समस्या बढेको मोक्तान बताउँछन् । ‘कुनै कारण छोटो जाम भयो भने सवारीहरु हतार गरेर अरुको लेनबाट दौडिन्छन्’, उनी भन्छन्, ‘यसले दुर्घटना पनि बढाएको छ, अस्ति विशालटारमा यस्तै कारण ट्रकहरु जुधेर दुर्घटना भयो ।’
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरीक्षक भावेश रिमाल राजमार्गका पहिरो खस्ने समस्या धेरै देखिएको बताउँछन् । त्यस्तो अवस्थामा केही समय गाडीहरु जाममा रोकिनासाथ साना गाडीले अरुको लेन ओगट्ने गरेको र त्यसले छिट्टै खुल्ने जाम पनि हट्न समय लाग्ने उनी बताउँछन् ।
‘सबै अनुशासित भए समस्या कम हुन्थ्यो’, उनी भन्छन्,’सबै ठाउँमा प्रहरी बस्न पनि सक्दैन, प्रहरी नदेखेपछि जे गरेपनि हुन्छ भन्ने सोच भएकाहरुले समस्या बढाएका हुन् ।’
अझै बढ्नसक्छ जाम
२०३१ सालमा पृथ्वी राजमार्ग निर्माणपछि पहिलो पटक २०४९ सालमा मात्रै मर्मत भएको थियो । त्यतिबेला पनि राजमार्गका सुरक्षात्मक पर्खाल र नदी कटानमा परेका भागबारे अध्ययन र मर्मत भएको थिएन । जीर्ण बन्दै गएका सडकमाथिका भित्ता र मुनिका कान्ला बलियो बनाउने प्रयास भएन ।
गाडीको अत्याधिक चाप झेलिरहेको यो राजमार्गका विभिन्न भागमा पहिरो खस्ने क्रम बढेको छ । खाल्डा टाल्ने र सानातिना पहिरो खस्दा रोकथाम गर्ने बाहेकको काममा सरकारको ध्यान छैन ।
दुई वर्षयता यो राजमार्गमा बाढी पहिरोले पुल र कल्भर्टहरुमा क्षति बढ्दो छ । रेखदेख र मर्मतमा ध्यान नदिँदा सडकमा हुने क्षति र यहाँ यात्रुले भोग्ने सास्तीको दर वर्षेनी बढ्दो छ ।
अब भने सडक विभागले मुग्लिनदेखि नागढुंगासम्मकै सडक स्तरोन्नती र सुधारको काम सुरु गर्न तयारी गरिरहेको छ । नागढुंगा-मलेखुसम्मको सडक खण्ड विस्तारका लागि ठेकेदार कम्पनी छनोट गरिसकेको छ । नागढुंगादेखि नौबिसेसम्म र नौबिसे मलेखु खण्डको विस्तारको लागि ठेकदार कम्पनीसँग समझदारी भइसकेको छ ।
सडक विभागका विकास सहायता महाशाखा प्रमुख रामहरि पोखरेलका अनुसार नागढुंगादेखि नौबिसेसम्मको खण्ड विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सनले पाएको छ । एक चिनियाँ कम्पनीसँगको ज्वाइन्ट भेन्चर -जेभी) मा ठेक्का हालेको कम्पनीले लागत अनुमान भन्दा करिब ३५ प्रतिशत कममा ठेक्का पाएको हो ।
करिब १ अर्ब ३१ करोडको ठेक्का लागेको यो खण्डको काम नौबिसेतर्फबाट सुरु गर्ने गरी विभागले कार्यादेश दिइसकेको छ । यो खण्ड विस्तारको काम काम २ वर्षमा सकिने अनुमान छ ।
त्यसैगरी नौबिसेदेखि मलेखुसम्मको सडक विस्तारको कामको जिम्मा लामा-शर्मा जेभीले पाएको छ । यी कम्पनीसँग पनि एक चिनियाँ कम्पनीले जेभी गरेको छ । यो कम्पनीले ३ वर्षभित्र काम सक्ने गरी ५ अर्ब ३२ करोड रुपैयाँमा ठेक्का पाएको हो ।
‘अनुमानित लागत करिब २० प्रतिशत कम मूल्यमा नौबिसे-मलेखु खण्डको ठेक्का लागेको हो’, पोखरेलले भने ।
पोखरेलका अनुसार नागढुंगा-नौबिसे खण्डमा काम गर्नु चुनौतीपूर्ण छ । उकालो सडकमा अहिले सामान्य अवस्थामै जाम हुने समस्या छ । त्यसमाथि अब सडकको दायाँ-बायाँ निर्माणको काम सुरु गरेपछि जाम बढ्नसक्ने जोखिम छ ।
‘सकेसम्म जाम नहुने गरी नौबिसे तर्फबाट काम गर्दै आउन भनेका छौं’, उनले भने, ‘सकेसम्म व्यवस्थित ढंगले सवारी र यात्रुलाई सकस नहुने ढंगबाट काम हुन्छ ।’
विभागका अनुसार मलेखु-मुग्लिन खण्डको विस्तारका लागि ठेक्का आह्वान भएर निर्माण कम्पनी छनोटको प्रक्रिया अघि बढिसकेको छ । सरकारले विश्व बैंकको आर्थिक सहयोगमा काठमाडौंको मुख्य नाका नागढुंगासम्मको सडक न्यूनतम डेडिकेटेड दुई लेनको बनाउन लागेको हो ।
यो सडक खण्ड विस्तारपछि ठाउँ र भौगोलिक अवस्थाअनुसार कतै चार, तीन र दुई लेनको हुनेछ । यो खण्डको ३६ किलोमिटर खण्ड तीन लेनको हुनेछ । बस्ती र बजार क्षेत्रको सडक चार लेनको हुनेछ । बढी उकालो रहेको भागमा सवारी साधन बिग्रँदा असर नपर्ने गरी तीन वटा लेन बनाउन लागिएको हो ।
यो सडकको पुरै खण्ड चार लेनमा विस्तार गर्न खोजिएको थियो । तर, मुआब्जा अत्यधिक तिर्नुपर्ने भएपछि मुग्लिन-नारायणगढ सडक खण्डको जस्तै सडक बनाउने गरी विस्तारको काम हुन लागेको हो ।
९२ किलोमिटर लामो यो सडक खण्डका बीच-बीचमा विभिन्न बजारहरु छन् । जुन बजारमा २५ मिटरभित्रै घरसहितका संरचनाहरु पर्छन् ।
नागढुंगा- मुग्लिन सडकमार्ग ६५ जिल्लाका यात्रु काठमाडौं प्रवेश गर्ने मुल मार्ग हो । यो खण्ड वर्षौंदेखि टालटुलका भरमा चलाइँदै आएको छ । वर्षाको समयमा यो सडक अति जीर्ण बन्न पुग्छ ।
नौबिसेमाथि नागढुंगासम्मको सडक पानी पर्नासाथै यो सडकमा खाल्डा खुल्डीका कारण मालसामान बोकेर आएका सवारीलाई उकालो लाग्न कठिन हुने गरेको छ । यसले गर्दा उकालोमा एउटा सवारी बिगि्रएर रोकिनासाथै लामो लाइन लागिहाल्ने समस्या छ ।
उच्च रुपमा हुने सवारी आवागमनले सडक मर्मत गर्न नै कठिन हुने गरेको छ । यो मार्गमा मुख्य रुपमा बढी भार बोकेर आएका सवारीका कारण कालोपत्रे नटिक्ने समस्या हुन्छ ।
झन् गुणस्तरीय ढंगमा कालोपत्रे नगरिँदा महिना दिनमै उप्किने र भत्किने समस्या देखिने गरेको छ । सडक साँघुरो भएको र मोडहरु पनि सानो भएकाले यसै पनि यो खण्डमा सवारीलाई मुश्किल हुन्छ ।
पोखरा आउने र जाने सवारीको चाप समेत हुने भएकाले यो सडकमा सवारीको चाप मुग्लिन-नारायणगढ खण्डको भन्दा बढी हुन्छ ।
त्यसैले यो खण्ड विस्तार सुरु भएपछि काठमाडौं-आउने जाने सवारी तथा यात्रुले जाममा बस्नुपर्ने निश्चित रहेको विभागका अधिकारीहरु बताउँछन् । विगतमा मुग्लिन-नारायणगढ सडक खण्ड विस्तारका क्रममा पनि त्यस्तो समस्या देखिएको थियो ।
प्रतिक्रिया 4