
८ असार, काठमाडौं । माध्यामिक तह परीक्षा नियन्त्रण कार्यलयले परीक्षण भइसकेको एसईईको उत्तरपुस्तिका केन्द्रमा जम्मा गर्न थालेको छ ।
२०७९ बैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको २०७८ सालको एसईईको परीक्षण भईसकेको उत्तरपुस्तिकालाई सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा ल्याउन थालेको हो ।
परीक्षा नियन्त्रण कार्यलयले ५६ परीक्षण केन्द्रहरु मध्ये हालसम्म परीक्षण भईसकेका २५ परीक्षण केन्द्रका उत्तरपुस्तिका ल्याइसकिएको जनाएको छ । एसईई परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले अन्य परीक्षण केन्द्रका उत्तरपुस्तिकाहरु पनि परीक्षण भईसकेपछि ल्याउने बताए । स्थानीय तहको निर्वाचनका कारण जेठ ५ गतेबाट मात्रै उत्तरपुस्तिका परीक्षण थालिएको थियो ।
परीक्षा सञ्चालनसम्बन्धी निर्देशिकामा परीक्षा सकिएको तीन महिनाभित्र नतिजा सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । त्यहि व्यवस्था अनुसार तोकिएको समयभित्र नतिजा निकाल्ने तयारी गरिरहेको परीक्षा नियन्त्रक रायमाझीले बताए । उनले भने ‘हामी निर्देशिकाले तोकेको समयसिमा भित्र नतिजा सार्वजनिक गर्ने प्रयासमा छौं । प्राविधिक समस्या भएन भने ३२ भित्रै निकाल्छौं ।’
बोर्डले यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार दिएको छ ।
त्यहि अनुसार प्रदेशगत परीक्षण भए अनुसार विद्यार्थीको प्राप्तांकलाई परीक्षा नियन्त्रण कार्यलयले रुजु गरेर नतिजा प्रकाशित गर्नेछ । बोर्डले केही दिनभित्रै प्रत्येक प्रदेशमा विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि विशेष सफ्टवेयर जडान गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।
कोरोना संक्रमणको अवस्था कम भइसकेपछि पहिलो पटक भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरिएको थियो । देशभरिका दुई हजार सात परीक्षा केन्द्रमा पाँच लाख १४ हजार ९७७ परीक्षार्थी एसईईमा सम्मिलित भएका थिए ।
प्रतिक्रिया 4