
काठमाडौं । एक दशकको अमेरिका बसाइपछि निर्देशक नारायण पुरी स्वदेश फर्किएका छन् । उनको यो नेपाल पुनरागमन विशेष हुँदैछ । निर्माण हुन लागेको एक नयाँ फिल्ममार्फत उनी ‘कमब्याक’ हुँदैछन् ।
पुरीले निर्देशन गर्ने अनटाइटल फिल्म विमान क्याप्टेन तथा मिडिया उद्यमी रामेश्वर थापाले लेखेको पुस्तक ‘बारुदमाथि’मा आधारित हुनेछ । उक्त पुस्तकमा थापाले दशक लामो सशस्त्र द्वन्द्वको कालखण्डमा भरेका हवाइ उडान र रोचक अनुभवलाई समेटेका छन् ।
पुस्तकमा उल्लेख भएका ठाउँ रुकुम, खारा, डोल्पा र नाम्चे लगायतका ठाउँमा फिल्म छायांकन हुने भएको छ । आगामी अक्टोबरदेखि छायांकन थालिने फिल्मलाई अन्तर्राष्ट्रिय फेस्टिभल अनि त्यसपछि हल रिलिजको तयारीसहित निर्माण गर्न लागिएको हो ।
अमेरिकामा बसोबास गर्दै आएका दुर्गा दाहाल र कल्याण घिमिरेले फिल्म निर्माण गर्न लागेका हुन् । ‘अब प्रि-प्रोडक्सन सुरुवात हुँदैछ । कमब्याकलाई लिएर निकै उत्साहित छु,’ पुरीले अनलाइनखबरसँग भने, ‘अक्टोबरदेखि सुटिङ सुरु गर्ने योजनाका साथ काम गर्दैछौं ।’
पुरी निर्देशित पछिल्लो फिल्म ‘अल्पविराम’ सन् २०१० मा रिलिज भएको थियो । उनी सन् २०१६ मा अमेरिका गएका थिए । अमेरिका जानुअघि उनले हिमालय टीभीमा ‘जीवनसाथी’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए, जसलाई अहिले माल्भिका सुब्बाले निरन्तरता दिएकी छन् ।
प्रतिक्रिया 4