
८ असार, काठमाडौं । ललितपुर महानगरपालिकाले एक गैरसरकारी संस्था मार्फत भेटेरिनरी एम्बुलेन्स सञ्चालन गरेकामा महानगरपालिकाकै पशु सेवा विभागले असन्तुष्टि जनाएको छ ।
ललितपुर महानगरले जनावरको अधिकार क्षेत्रमा काम गरिरहेको गैरसरकारी संस्था स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स हस्तान्तरण गरेपछि पशु सेवा विभागका कर्मचारी असन्तुष्ट बनेका हुन् ।
ललितपुर महानगरले ४० लाख रुपैयाँमा किनेको गाडी भेटेरिनरी एम्बुलेन्सको रुपमा पशुचौपायको अस्तव्यस्तता सुधार गर्ने, घाइते जनावरको उद्दार गर्ने भन्दै व्यवस्थापनको जिम्मासहित स्नेहाजलाई प्रदान गरेको थियो ।
महानगरको पशु सेवा विभागले भने आफ्नै आफ्नै मातहतको निकायलाई बेवास्ता गर्नु गलत भएको बताएको छ ।
विभागका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. अमर रायले अनलाइनखबरसँग भने, ‘महानगरभित्रका पशुचौपायको व्यवस्थापन गर्न भनेर विभागमा कर्मचारी राखेका छौं । म आफैं पशु सेवा हेर्ने दशौं तहको कर्मचारी हुँ । तर आफ्नै कार्यालयको विभागलाई वेवास्ता गरेर गैरसरकारी संस्थालाई भेटेरिनरी एम्बुलेन्स दिएको कुरा हामीलाई चित्त बुझेको छैन ।’
डा. रायले ललितपुर महानगरपालिकासँग पशु सेवा विभागले भेटेरिनरी एम्बुलेन्स र पिकअप भ्यान माग्दा पनि बेवस्ता गरेको, मेयर चिरिबाबु महर्जनले कहिले पनि पशु सेवा विभागलाई आफ्नो नठानेको गुनासो गरे ।
उनले महानगरकै पशु विभाग हेर्न कर्मचारीहरुसँग सल्लाह, समन्वय नगरी एनजिओलाई जनावर व्यवस्थापन गर्न जिम्मा दिनु आश्चर्यजनक रहेको बताए ।
विवाद गर्ने विषय छैन
यो विषयमा ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने पशु सेवा विभागको विगतमा धेरै काम हेरेको भन्दै गुनासो गर्ने ठाउँ नभएको बताए ।
उनले भने, ‘हामीले पशु सेवा विभागको काम धेरै हेरेका छौं, चित्तबुझ्दो काम गर्न नसक्ने तर गुनासो मात्रै गरेर हुँदैन । यो मेयर साबको प्राथमिकतामा परेको योजना भएकोले गुणस्तरीय काम गर्न स्नेहाज केयरसँग सम्झौता गरिएको हो’ उनले भने ।
महानगरले स्नेहाज केयरलाई भेटरिनरी एम्बुलेन्स दिएपनि महानगरपालिका मातहत नै सञ्चालन हुने र त्यहाँ महानगरपालिकाकै प्राविधिक रहने अर्यालले बताए । ‘व्यवस्थापन हाम्रै हुन्छ । त्यसकारण यसमा विवाद गर्नुपर्ने कुरा छैन’ उनले भने ।
बुधबार बिहान ललितपुरका मेयर चिरिबाबु महर्जनले एक कार्यक्रम मार्फत एम्बुलेन्सको साँचो स्नेहाज केयरकी प्रमुख स्नेहा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
महानगरका प्रमुख महर्जनले विभिन्न कारणले घाइते भएका जनावरलाई उपचारका लागि अस्पताल पुर्याउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो एम्बुलेन्स सेवा सुरु गरेको बताए ।
उनले ललितपुर महानगरपालिका जनावरको अधिकारप्रति संवेदनशील रहेको भन्दै, सडक पेटीमा भेटिने बिरामी जनावर बोक्न असहज भएको भेटरिनरी एम्बुलेन्स व्यवस्था गरेको बताए ।
प्रतिक्रिया 4