
काठमाडौं । अनुप बराल निर्देशित फिल्म ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ । १ मिनेट २२ सेकेन्ड लामो टिजरमा दीया मास्के, मनिष निरौला लगायतलाई चित्रण गरिएको छ ।
गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन टिजरमा प्रयत्न गरिएको छ । दुवै जनालाई दुश्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई पनि चित्रण गरिएको छ ।
असार २४ गते रिलिजको तयारीमा रहेको फिल्मले खेलमार्फत तत्कालीन राजनीति र समाजको विश्रृंखलतालाई प्रस्तुत गरेको छ । फिल्ममा दीया र मनिषसहित लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ लगायतको अभिनय छ ।
शैलेन्द्रध्वज कार्कीको छायांकन, आभाषको संगीत, श्रवण मुकारुङको शब्द र उत्तम न्यौपानेको ध्वनि रहेको फिल्मलाई समीक्षकले रुचाउने विश्वास लिइएको छ । कोरोना महामारी र निर्माणमा भएको ढिलाइको कारण फिल्म अन्ततः प्रदर्शन हुन लागेको हो ।
फिल्मलाई राजन कठेतले लेखेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारीले फिल्म निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4