
काठमाडौं । र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ले र्याप ब्याटल प्रतियोगिता आयोजना गर्ने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘ब्याटल भूमि’बारे जानकारी दिइयो ।
निर्देशक निकेश खड्काका अनुसार यो प्रतिस्पर्धा पर्फमिङ र्याप नभएर ब्याटल र्याप मात्र हो । नेपहपको श्रीपेच पर्फमिङ शैलीमा भैरहेको छ भने ब्याटल भूमि प्रतिस्पर्धा मात्र हुनेछ ।
उनका अनुसार यो प्रतिस्पर्धामा भोटिङ राउन्ड नभएर निर्णायकको निर्णयमात्र लागू हुनेछ । एएनटीएफ र रअ बार्ज पनि र्याप ब्याटल कार्यक्रम हुन् ।
प्रतिस्पर्धामा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागी हुन सक्नेछन् । आज बेलुका ५ बजे देखि २ जुलाईसम्म अडिसन खुल्ला रहने जनाइएको छ । डिजिटल अडिसनका लागि गीतको बिटमा १ मिनेटभन्दा लामो भिडिओ पठाउनुपर्नेछ ।
सुदिप पोख्रेल र रोशन श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् । निर्णायकको रूपमा मानस घले, कवि–जी छन् भने अर्का एक निर्णायकको घोषणा गरिनेछ । होस्टका रूपमा कोइन्च–जी छन् ।
असोसियट प्रोड्युसरको रूपमा मनोज सापकोटा छन् । साउनदेखि ओएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।
निर्माता पोखरेलले ‘नेपहप श्रीपेच’ हुँदा–हुँदै अर्को कार्यक्रम किन आवश्यक पर्यो भन्ने प्रश्नमा र्याप गायक र ब्याटल गायकबीच पनि भिन्नता हुने भएकाले पनि ‘ब्याटल भूमि’ कार्यक्रम निर्माण गर्न लागिएको बताए ।
कार्यक्रममा ‘नेपहपको श्रीपेच’मा सहभागी ‘डीएनएक्स’को चर्चित गीत ‘इन्टु मिन्टु लन्डन’को अफिसियल भिडिओ ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने पनि घोषणा गरिएको थियो ।
प्रतिक्रिया 4