
९ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् ।
गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।
मंगलबार तोडफोड गरेका उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर माफी दिइएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिए ।
ज्योति गाउँपालिका अध्यक्ष जयप्रकाशका छोरा हुन् । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो । बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिएका थिए ।
एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ ।
‘एक पटक गल्ती भयो भनेपछि कारवाही प्रक्रिया अघि नबढाउने सहमति भयो,’ बैठकमा सहभागी एक जनप्रतिनिधिले भने, ‘बुबाको रिसले सरकारी गाडीमा क्षति पु¥याउनु गलत हो ।’
पालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताए । उनले अब तोडफोड गरे कारवाही हुने बताए । ‘माफी मागेपछि एक पटकलाई कागज गरेर माफी दिइएको छ,’ उनले भने, ‘फेरि यस्तो घटना दोह्रोर्याएर कारवाही हुन्छ ।’
प्रतिक्रिया 4