
९ असार, विराटनगर । झापा बिर्तामोडकी १३ वर्षीया बालिका शनिबार स्कुलमा डान्स क्लास छ जान्छु भन्दै हिंडेकी थिइन् । उनी शनिबार अबेरसम्म पनि घर नफर्केपछि आफन्तले खोजी गरे, तर भेटेनन् । भोलिपल्ट पनि नआएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिए ।
प्रहरीले बालिकालाई आइतबार फेला पार्यो तर विराटनगरमा । एक युवक र एक युवतीले भारततर्फ लैजाँदै गरेको अवस्थामा ‘साना हात नेपाल’ नामक संस्थाको सहयोगमा ती बालिकालाई प्रहरीले नाकाबाट उद्धार गरेको थियो ।
शनिबार घरबाट स्कुल जान्छु भन्दै हिंडेकी बालिकालाई त्यस दिन राति हिराकुमार सहनीको डेरामा राखिएको थियो । भोलिपल्ट भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको प्रहरीको दाबी छ ।
बालिकालाई भारत लगेको आरोपमा प्रहरीले भारत मजतपुर घर भई झापाको बिर्तामोड नगरपालिका– ५ मुर्तीचोकमा डेरा गरी बस्दै आएका २३ वर्षीय हिराकुमार र बाराको कोल्वी नगरपालिका – ४ की १९ वर्षीय सिरिसा सिंह महथालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु प्रेमीप्रेमिका रहेको प्रहरीको दाबी छ ।
बालिकालाई बेच्न लगेको आशंका छ । पक्राउ परेका दुई जनालाई मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले बताए ।
प्रतिक्रिया 4