
काठमाडौं । परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि आकाशमा’ सार्वजनिक भएको छ ।
गीतमा बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाललाई देख्न सकिन्छ । फिल्मले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रशन र सुप्रियाले जोडीको रुपमा काम गरेका छन् ।
गीतको कोरियोग्राफीमा एकअर्कामा अगाध प्रेम देखाइए पनि एकले अर्कोलाई नछोई प्रेमभाव प्रदर्शन गरेका छन् । कोरियोग्राफीको यो शैलीलाई प्रष्ट पार्दै परिच्छेद भन्छन्, ‘चलचित्रको टर्निङ पोइन्ट त्यही नै हो र चलचित्रको सम्पूर्ण कथा उनीहरूको त्यही माया गर्ने शैलीभित्र लुकेको छ ।’
टिजरमा पनि राजाले मैनाको छाँयालाई स्पर्श गर्ने कोशिश गरेको दृश्य देख्न सकिन्छ । टिनएजदेखि युवा अवस्थासम्म एकले अर्कोलाई नछोई कसरी प्रेम गर्न सके ? यो कौतुहलता मेटाउन हल जानुपर्ने निर्देशक परिच्छेद बताउँछन् ।
कोरियोग्राफी निर्देशक परिच्छेद स्वयंले गरेका हुन् । गीतमा पुरुषोत्तम ढुंगेलको शब्द रचना छ भने किरण भुसालको संगीत छ । सुगम पोखरेल र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई सञ्जय लामाले छायांकन गरेका हुन् । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखक पनि परिच्छेद सेन नै हुन् ।
फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा प्रदर्शन हुँदैछ ।
प्रतिक्रिया 4