
१० असार, काठमाडौं । नेपाल खुला विश्वविद्यालयले बीबीएस दोस्रो वर्षको परीक्षा भएको ९ महिनासम्म पनि नतिजा सार्वजनिक गर्न सकेको छैन ।
विश्वविद्यालयका रजिष्ट्रार डा.गोविन्द सिं बिष्टले नतिजा सार्वजनिक गर्ने तयारी भईरहेको र केही दिनभित्रै सार्वजनिक हुने बताएका छन् । उनले भने ‘हामीले तयारी गरिरहेका छौं । केही दिनभित्रै सार्वजनिक गर्छौं ।’
कात्तिकमा भएको परीक्षाको नतिजा अझै सार्वजनिक हुन नसकेको हो । डीनहरु नभएको कारण नतिजा सार्वजनिक गर्न ढिलाई भएको रजिष्ट्रार बिष्टले बताए । उनले भने ‘सबै संकाय परीक्षा समितिको अध्यक्ष डीन हुने व्यवस्था छ । तर, डीन नै नभएपछि समस्या भईरहेको छ । हामीले काम चलाउ काम गरिरहेका छौं ।’
सबै संकाय डीन बिहीन
नेपाल खुला विश्वविद्यालय डीन बिहिन बनेको ८ महिना बढी भएको छ । व्यवस्थापन तथा कानून संकाय, सामाजिक विज्ञान तथा शिक्षा संकाय र स्वास्थ्य विज्ञान तथा प्रविधि गरी तीन संकाय अन्र्तगतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ ।
यी तीनै संकायमा डीन खाली भएको लामो समय भएको छ । रजिष्ट्रार बिष्टले आफुहरु नियुक्त भएपछि डीन नियुक्ति गर्ने तयारी गरिरहँदा स्थानीय तहको चुनावको कारण नसकिएको र अब चाँडै हुने बताए । उनले भने ‘हामीले नियुक्त भएपछि तयारी गरिरहँदा स्थानीय तहको चुनावको आचार संहिताले रोक्यो । अब तयारी गरिरहेका छौं । सम्भवत एक हप्ताभित्र नियुक्त गर्छौं ।’
विश्वविद्यालय पदाधिकारी बिहीन भएको करिब ९ महिनापछि उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको थियो ।
प्रतिक्रिया 4